डुडुवामा विद्युत् सेवा अवरुद्ध



         विद्युत् कार्यालयले सुस्त गतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बत्ती बाल्न नपाएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

डुडुवा (बाँके),१७ जेठ/  डुडुवा गाउँपालिकामा हावाहुरीले ढालेका पोल मर्मत नहँुदा स्थानीयले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ताअघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं. ४ र ५ मा ३० वटा विद्युत् पोल ढलेका छन् ।

केही भाँचिएका छन् । विद्युत् कार्यालयले सुस्त गतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बत्ती बाल्न नपाएको भन्दै स्थानीय आक्रोशित भएका छन् । अत्यधिक गर्मीको मौसममा लामो समयसम्म विद्युत् आपूर्ति बन्द भएपछि स्थानीयलाई हैरानी भएको छ । विद्युत् प्राधिकरणले मुख्य सडकका पोल गाडिसकिएको र गाउँभित्रका पोल केही दिनमै गाड्ने जनाएको छ ।

हुरीले गाउँपालिकाको वडा नं. ४ र ५ मा बढी क्षति पु¥याएको छ । वडा नं. ५ गोहनाका १२ वर्षीया गीता कुमाई घरको छानाले च्यापिएर गम्भीर घाइते भएकी छन् । उनको टाउको र शरीरका अन्य भागमा गहिरो चोट लागेको वडाध्यक्ष परशुराम बुढाथोकीले बताए । अहिले उनको नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुर उपचार भइरहेको छ । थप उपचार सहयोगका लागि जिल्ला प्रशासन कार्यायल बाँकेलाई सिफारिस पत्रसमेत पठाएका वडाध्यक्ष बुढाथोकीले बताए ।
गाउँपालिकाको दुईवटै वडामा टिन, टायल र फाइबरले छाएको करिब ७० जनाको घरको छाना उडाएको छ, भने एक दर्जन बढी रुख ढलेको छ । हुरीले छाना उडाएपछि नागरिकलाई तत्काल बस्नसमेत समस्या भएको छ । उनीहरुले तत्काल राहतको माग गर्दै छानाको व्यवस्थापन गर्न सरोकारवाला निकायसँग माग गरेका छन् । सो क्षतिका बारे वडाध्यक्ष बुढाथोकी नेतृत्वको टोलीले अनुगमनसमेत गरेको छ ।
अनुगमनका क्रममा भएका क्षतिबारे वडाध्यक्षले गाउँपालिकालाई समेत जानकारी गराएका छन् । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपद् प्रकोपले प्रभावित गाउँपालिकालाई बेलाबेलामा प्रभावित बनाएको भन्दै हुरीले धेरै क्षति पु¥याएको बताए । उनले त्यसको राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पहल भइरहेको बताउँदै विद्युत् आपूर्ति सेवा तत्काल सुचारुका लागि पहल भएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १७ गते बिहीबार