कोहलपुर,१४ जेठ/ सरकारले बाँके जिल्लामा सञ्चालन गरेको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत गठन गरिएका ७ सय ६२ टोल पढाई समुहलाई निरन्तरता दिन समुदाय र स्थानीय सरकार दुबै सहमत भएका छन् ।
विदाको दिन पठनपाठन गर्ने भनि अभिभावकद्वारा गठन गरिएका टोल पढाई समुहले कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पठन र लेखन सिपमा सुधार आउनुका साथै विद्यालय भर्ना अभियानदेखि शिक्षाको चेतनासम्म बढेको ठहर गर्दै समुदाय र स्थानीय सरकार दुबैले ती समुहलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका हुन् ।
नेपालगन्जमा आयोजना गरिएको प्रारम्भिक कक्षा पढाई सिप प्रवद्र्धनका लागि जिल्लास्तरीय नेतृत्व विकास कार्यक्रममा सहभागी विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र टोल पढाई समुहका संयोजकहरुले जुनसुकै अवस्थामा पनि टोल पढाई समुहलाई निरन्तरता दिने प्रतिवद्धता गरे ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले टोल पढाई समुह र प्रारम्भिक कक्षा पढाई कार्यक्रमले गर्दा बाँकेको मधेशी र मुस्लिम समुदायमा शिक्षाप्रति ठुलो परिवर्तन आएकोले यो कार्यक्रमलाई अझै जारी राख्नु पर्ने बताए ।
यस्तै खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले कक्षा १ देखि ३ सम्मका बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि समुदायस्तरमा गठन गरिएका टोल पढाई समुहलाई निरन्तरता दिइने जनाउँदै त्यसका लागि गाउँपालिकाले आवश्यक बजेट समेत विनियोजन गर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले टोल टोलमा गठन गरिएका टोल पढाई समुहले बालबालिकाको पढाई सिप बढाउनुका साथै अभिभावकलाइ पनि सचेत पारेकोले आफ्नो गाउँपालिकामा यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
सोही अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगरले बालबालिका र अभिभावक दुबैलाई सचेत र जिम्मेवार बनाउने टोल पढाई समुहलाई निरन्तरता दिनु पर्नेमा जोड दिइन् ।
यस्तै सो कार्यक्रममा सहभागि विभिन्न टोल पढाई समुहका संयोजक र सदस्यहरुले टोल पढाई समुहलाई निरन्तरता दिइने जनाउँदै स्थानीय तहले त्यसका लागि बजेट विनियोजन गर्नु पर्ने माग गरेका थिए ।
जिल्लाका अधिकांश वडा र गाउँपालिकाले टोल पढाई समुहका लागि गत आवमै बजेट समेत विनियोजन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्