कोहलपुर,१२ जेठ/ बाँकेको कोहलपुर नगरपालिका– ३ स्थित श्री जनता माध्यामिक विद्यालयको ५७ औं वार्षिक उत्सव सम्पन्न शुक्रबार भएको छ । वार्षिक उत्सवको कोहलपुर नगरपालिका उप प्रमुख सञ्जु चौधरीले उद्घाटन गरेकी थिइन् ।
उद्घाटन सत्रमा बोल्दै उप प्रमुख चौधरीले विद्यालयको विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिइन् । साथै उनले सो स्कुल यस क्षेत्रकै पुरानो स्कुल भएकोले नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
वार्षिक उत्सवको अवसरमा विद्यालयका शिक्षक कृष्ण प्रसाद पंगालीले विपन्न तथा निम्न आयस्तरका पाँच जना विद्यार्थीहरुको लागि पढाइ खर्च व्यहोर्ने बताएका छन् । उनले सोही विद्यालयमा अध्ययनरत कोहलपुर नगरपालिका–३ चन्नहवाकी कक्षा ९ मा अध्ययनरत रेखा थारु, वडा नम्बर ३ मैटहवाका कक्षा ९ कै सुवर्णा पुन, कक्षा ८ का नविन थारु, कक्षा २ का लोकेन्द्र सुनार र कक्षा २ कै रमित थारुलाई १२ कक्षासम्मको सम्पुर्ण पढाई खर्च व्यहोर्ने बताएका छन् ।
आर्थिक अभावका कारण पढाईबाट वञ्चित हुन नपरोस् भनेर सो विद्यार्थीहरुको पढाई खर्चको जिम्मा लिएको शिक्षक पंगालीले बताए । साथै उनले आफ्नो कमाईको ४० प्रतिशत रकम शिक्षा लगायत सामाजिक कार्यमा खर्च गरिने बताए ।
पंगालीले निम्न आयस्तर भएका विद्यार्थीहरुलाई आफूले प्रत्येक वर्ष पोशाक तथा शैक्षिक सामग्रीहरु वितरण गर्दै आइरहेको र यस्तो कार्य आउँदा दिनहरुमा पनि निरन्तर गरिरहने बताए ।
उनले गत वर्षमात्र राप्ती सोनारी गाउँपालिका अन्तर्गत श्री भानु प्रावि सिक्टा र नेरा मावि अगैयाका २० जना विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको बताए । गत वर्ष सहयोग गरेका सिक्टाका विद्यार्थी तप्त वली कोहलपुर स्थित डाईनामिक क्याम्पसमा अध्ययनरत रहेका छन् ।
वार्षिक उत्सवको अवसरमा विद्यालयमा विविध साँस्कृतिक कार्यक्रमहरु समेत गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारस नाथ थारुको सभापतित्वमा सम्पन्न भएको थियो ।