तल्लो कर्णाली जलाधार क्षेत्रको प्रोफाइल निर्माण



बर्दिया,७ जेठ/  तल्लो कर्णाली जलाधार क्षेत्रको प्रोफाईल निर्माण गरिएको छ । जलिय प्राकृतिक सुधार कार्यक्रम (पानी) परियोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको सहकार्यमा प्रोफाइल निर्माण गरिएको हो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बर्दिया शाखाले आयोजना गरेको अर्धवार्षिक प्रगति समिक्षा कार्यक्रममा प्रोफाईल निर्माण भएको जानकारी दिइएको हो । युएसआईडिको सहयोगमा निर्माण गरीएको प्रोफाईलमा कर्णाली नदि र त्यस नदिमा मिसिने खोला नालाहरुको स्वास्थ्यको बारेमा समेटिएको छ । बर्दिया कैलाली र सुर्खेत गरी तिन ओटा जिल्लाका कर्णाली छेउछाउका नगरपालिका र गाउँपालिकालाई जालाधार क्षेत्र भित्र राखिएको छ ।

प्रोफाईल निर्माणको क्रममा देखिएका समस्या र समाधानका विषयमा कार्यक्रममा छलफल गरिएको छ । तल्लो कर्णाली जलाधार क्षेत्र खडेरी, ढुङ्ग, गिट्टी, बालुवा उत्खनन्, बाढि, आगालागी लगायतका कारणले समस्यामा परेको निष्कर्ष निकालिएको छ । सर्वेक्षणको क्रममा जलाधार क्षेत्रमा खानेपानीको अभाव मुख्य चुनौती रहेको पाइएको छ । ५६ प्रतिशत जनसुमदायले पानीको श्रोत सुक्दै गएको बताएका छन् भने ८३ प्रतिशत व्यक्तिले खानेपानीको श्रोतहरु सुकेकाले समस्या रहेको बताएका छन् ।

प्रोफाईल निर्माणको क्रममा ६९ जना सर्वेक्षकहरु नमुना सर्वेक्षणका लागि ८ हजार ४ सय घरधुरीमा पुगेका थिए भने सम्बन्धित विषय विज्ञ र स्थानीय समुदायबाट पनि जानकारी संकलन गरिएको थियो ।

प्रोफाईको विषयवस्तु सम्बन्धी प्रस्तुत गर्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा बर्दियाका कार्यक्रम अधिकृतले प्रोफाईलमा तल्लो कर्णाली जालाधार क्षेत्रमा देखिएको समस्याका बारेमा उजागर गरिएको बताए । उनले कर्णाली नदिको अवस्था र नदिसँग जोडिएका स्थानीयवासीहरुको जिविकोपार्जनमा परेको समस्याका बारेमा बताउँदै कर्णाली नदिको संरक्षण सबै जुट्नुपर्ने बताए ।

नदि भित्रको जलचरको अवस्था निक्कै दर्दनाक भएको बताउँदै नदिको संरक्षणका क्रममा देखिएका समस्या र समाधानका लागि स्वास्थ्य प्रोफाईल निर्माण गरिएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले एकिकृत जालश्रोत व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन् । निर्माण भएको प्रोफाइललाई आधार मानेर स्थानीय निकाय र अन्य सरकार तथा गैरसरकारी संघ संस्थाले जालाधार सुधारको कार्यक्रम गर्न सक्ने बताए ।

‘खोला नालाको पानी शुद्ध भएमा हामीले पिउने भुमिगत पानी पनि पिउन योग्य बनाउन सकिन्छ ।’ उनले भने ‘भुमिगत पानी रिचार्जका साथै शुद्धिकरणका लागि नदिको संरक्षण गर्न जरुरी छ ।’ नदिमा आश्रीत सोनाहा लगाएतका जातीहरुको उत्थानका लागि पनि नदिको संरक्षण गर्नुपर्ने बताए । खानेपानी आयोजनामा विद्युत डिमाण्ड चार्ज र महशुल छुट दिने सरकारको नीतिगत निर्णय भएपनि व्यावहारिक रुपमा कार्यन्वयन नभएको बताए ।

तल्लो कर्णाली जलाधार क्षेत्रको अवस्था अनुगमन र विभिन्न संघसंस्थाले गरेका कामको प्रगतिको अनुगमनका लागि कार्यक्रममा अनुगमन टोली गठन गरिएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा बर्दियाको संयोजकत्वमा विभिन्न महासंघ पत्रकार नागरिक समाज लगायतको उपस्थितिमा अनुगमन समिति गठन गरिएको हो ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा बर्दियाकी अध्यक्ष टिका सम्सेलीको अध्यक्षतामा भएको कार्यक्रममा गुलरिया नगरपालिका वडा नं १ प्रतापकुमार गौतम र ९ का वडाध्यक्ष र हरीप्रसाद पासवान, नागरीक समाज सञ्जालका संयोजक बालकृष्ण वली, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल, राष्ट्रिय सिचाई जल उपभोक्ता महासंघका केन्द्रिय सदस्य दयाराम खड्का लगाएतकाले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५ जेठ ७ गते सोमबार