नेपालगन्ज,३१ बैशाख/ आधारभूत तह अध्ययन गरेका युवालाई लक्षित गरी व्यवासायिक तथा सीप विकास तालिम केन्द्र नेपालगन्जबाट हरेक वर्ष करिव पाँच सय बढीका लागि विभिन्न खालका तालिम सञ्चालन हुँदै आएकोे छ ।
सो तालिम केन्द्रका प्रमुख जेन्टील गौतमका अनुसार हरेक वर्ष कक्षा ८ सम्म अध्ययन गरेका युवा युवतीलाई स्वरोजगार बनाउने उद्देश्यले व्यावसायिक मुलक तालिम सञ्चालन गरिदै आएको हो ।
‘आधारभूत तहसम्म अध्ययन गरेका युवा युवतीलाई विभिन्न सिप मुलक तालिम दिएर उनीहरुलाई स्वरोजगारका साथै आत्मनिर्भर बनाउनु उद्देश्य हो ।’
उनले विभिन्न विषयमा विभिन्न प्रकारका तालिम सञ्चालन गरि दक्ष जनश्क्ति समेत उत्पादन गर्ने गरेको बताए । ‘व्यवसायसँग सम्बन्धित तालिम युवा युवतीले प्राप्त गरे पनि ती तालिमको उपयोग भएको छ, छैन भन्ने अनुगमन नहुँदा तालिमको उपदियताको अभावले लाखौको लगानी के भएको छ यकिन गर्न सकिएको छैन’–केन्द्र प्रमुख गौतमले भने ।
उनले केन्द्रले सञ्चालन गरेका तालिम लिएका केही युवायुवतीले सीपलाई व्यवसायिक रुपमा प्रयोग गरे पनि अधिकांश भने आर्थिक अभावका कारण तालिम लिएर बसेको मात्र पाईएको बताए ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र बाँके नेपालगन्जको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/ ०७२ मा विभिन्न विषयगत नियमित तालिम तर्फको लक्ष्य ३ सय ८० जनाको थियो भने प्रगतिमा ३ सय १३ जनाको सहभागिता रहेको थियो
केन्द्र प्रमुख गौतमले सो तालिममा दलित पुरुष १०, महिला ५, जनजाति पुरुष ७८, महिला ८३, अन्यमा पुरुष ५६, महिला ८१ सहभागी भएको जानकारी दिए ।
उनले केन्द्रमा आयोजना गरिएको तालिम मध्ये विद्युत जडान ६० जना माग गरिएकोमा ५७ ले मात्र सहभागिता जनाएको, केश श्रृंगार ६० जनामा ७३ जना सहभागि, कटाइ सिलाई ८० जनामा ६० जनाले मात्र, इलेक्ट्रोनिक्स ४० को आवेदन माग गर्दा ३ जनाले मात्र सहभागिता, मोटर साइकल मर्मत ४० मा ४६, कमप्युटर ८०मा ६०, वेल्डिंग २० मा १४ले सहभागिता जनाएका थिए ।
अपग्रेडिंग तालिम विद्युत जडान र केश श्रृंगार तर्फको लक्ष्य ४० जनाको थियो भने तालिममा ३६ जना सहभागी भएका थिए । यस्तै विशेष सीप तालिम तर्फको लक्ष्य ६ सय ५० जनाको थियो भने प्रगतिमा ५ सय ९३ जनाको सहभागिता थियो । जसमा सुरक्षा गार्ड, तरकारी खेती, ब्राखा पालन, मेसन लगायतको तालिम सहभागीहरुले लिएका थिए ।-sadarline