रावन बिश्वकर्मा/ बाँसगढी,२७ वैशाख/ बाँसगढी उद्योग वाणिज्य संघको विवादका विषयमा छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गको निर्देशनमा बाँसगढी नगरकार्यपालिकाका प्रसाशकिय अधिकृत कमल प्रसाद पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो ।
जसको सदस्यमा ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही र सरकारी वकिल डिल्लीराज ज्ञवाली रहेका छन ।
गत बैशाक ४ गते भएको उद्योग वाणिज्य सँघको निर्वाचनको पुनः मतगणना हुनु पर्ने भन्दै लोकतान्त्रिक प्यानलका अध्यक्ष बिपीन पौडेलले जिल्ला प्रशासन कार्यालय बर्दियामा निवेदन दिएका थिए ।
उनले निर्वाचन समितिले घरि ३ घरि १ मतको अन्तर ल्याएकाले निर्वाचन समितिको नियत सफा नदेखिएको भन्दै कानुनी प्रक्रियामा गई पुनः मत गणना हुनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालय बर्दियामा निवेदन दर्ता गराएका थिए । संघको निर्वाचनको परिमाण निर्वाचन समितिले ५ गते नै घोषणा गरेको थियो ।
विवाद हुँदा हुँदै समितिले एकलौटी निर्णय गरी मत परिमाण घोषणा गरेको भन्दै लोकतान्त्रिक प्यानलका तर्फबाट विजय भएका पदाधिकारीहरुले समेत बहिस्कार गरी अझै प्रमाण पत्र लिएका छैनन् ।
वाम गठनबन्धनकाबाट निर्वाचित अध्यक्षका उमेद्धार रामसिंह थारु लगायतलाई निर्वाचन समितिले विजयी घोषणा गरिसकेको छ ।
रामसिंह थारु र विपीन पौडेलको १ मतको मात्रै अन्तर थियो । रामसिंहले २ सय ३९ र पौडेलले २ सय ३८ मत प्राप्त गरेका थिए । मतगणना विवादित बनेसँगै मत पत्रहरु मत पेटिकामा सिलबन्दी गरी ईलाका प्रहरी कार्यालय बाँसगढीमा सुरक्षित साथ राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्