यानबी साहु : कोहलपुर,२४ वैशाख/ बाँकेको कोहलपुर नगर कार्यपालिकाको २६औं बैठक विभिन्न निर्णय पारित गर्दै आइतबार सम्पन्न भएको छ ।कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा बसेको बैठकले सो निर्णयहरु पारित गर्दै सम्पन्न भएको हो ।
बैठकले कोहलपुर वडा नंम्बर ७, ८ र १४ मा रहेको जङ्गलमा औद्योगिक क्षेत्र निर्माणका लागि केन्द्रीय सरकारलाई अनुरोध सहित सिफारिस गर्ने, युवाहरुलाई लक्षित गरी छुट्याइएको बजेटले युवाहरुलाई भूकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धी तालिम दिने, पूर्वाधार विकास समिति र निर्माण व्यवसायी संघ बीच भएको निर्णयलाई अनुमोदन गर्ने, नगर–पालिकाको कार्यालय प्रयोजनका लागि छुट्याएको बजेटले कार्यालयको लागि जेनेरेटर खरिद गर्ने निर्णय गरेको छ ।
यस्तैै बैठकले नगरपालिका भित्र गठित विषयगत समितिबाट सञ्चालन भएका योजनाहरुमध्ये रु एक लाखसम्मका योजनाहरु सोही विषयतग समितिले अनुगमन गरेर सिफारिस गर्ने र सो भन्दा माथिका योजनाहरु उपमेयरको संयोजकत्वमा गठित समितिले अनुगमन गर्ने, नगरपालिकाको समपूरक कोष अन्तर्गतको ७० प्रतिशत रकम नगरपालिकालाई र ३० प्रतिशत रकम नगरपालिका भित्र कुनै व्यक्ति वा संस्थाले योजना तथा कार्यक्रम ल्याएमा तिनीहरुलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
साथै बैठकले नगरपालिकाका १५ वटै वडामा सञ्चालित ठूला योजनाहरुको सम्पूर्ण विवरण संकलन गरी नगरपालिका मार्फत ३ दिन भित्र प्रदेश सरकारलाई
पठाउने निर्णय गरेको नगरपालिका प्रवक्ता माधव रिजालले जानकारी दिए ।
नगर प्रमुख रावतले हालसम्म सञ्चालन गरेका सम्पूर्ण योजनाहरुको गुणस्तरमा ध्यान दिन र गुणस्तरमा कुनै कसैसंग पनि सम्झौता नगर्न १५ वटै वडाका वडा अध्यक्षहरुलाई निर्देशन दिँदै बैठकको समापन गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्