कोेहलपुर,१७ वैशाख/ आज वैशाख शुक्ल पूर्णिमा, बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा लिने गर्छन् ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा बुद्ध लाग्नु भएको थियो । उहाँलाई छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो ।
छत्तीस वर्षका उमेरमा सारनाथमा उहाँले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिनु भएको थियो । सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन दिदै संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय उल्लेख गर्नु भएको थियो ।
बौद्धदर्शनका प्रा शान्तरत्न बज्राचार्य भगवान् बुद्धले बुद्धत्व ज्ञान प्राप्त गरेको मुख्य कुरा चार आर्य सत्य रहेको बताउनुभयो । राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन् ।
पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन् । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।









प्रतिक्रिया दिनुहोस्