कोहलपुर,१७ वैशाख/ आफ्नै छोरी बलात्कार गरेको आरोपमा कोहलपुरमा एक बाबु पक्राउ परेका छन् । जंगलमा सेटा (घरमा बार लगाउनका लागि प्रयोग गरिने) काट्न गएका बेला १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको कोहलपुर प्रहरीले जनाएको छ ।
वैशाख २ गतेको घटना भए पनि ढिलो गरी सार्वजनिक भएको हो। धेरै केरकार गरेपछि छोरीले आमालाई घटनाबारे बताएकी थिइन् । आमाले प्रहरीमा जानकारी गराएपछि बाबुलाई पक्राउ गरिएको छ ।
बालिकाको मेडिकल जाँच गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले जानकारी दिए । पक्राउ परेका बाबुलाई जबर्जस्ती करणी र हाडनाता करणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यसअघि भारतमा हुँदा पनि आरोपीले छोरीलाई बलात्कार गरेका थिए । यसैबीच जबर्जस्ती करणीका फरार अभियुक्त झण्डै चार वर्षपछि पक्राउ परेका छन् ।
२०७१ असार ५ गते बैजनाथ–३, गाभरकी १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका सोही ठाउँका विजय परियार र पुरन बिकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अदालतमा पेश गरिने कोहलपुर प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्