रावन बिश्वकर्मा : बाँसगढी,९ वैशाख/ बर्दियाको राँझामा निर्मानाधिन सिँचाई नहरको निर्माण काम तिव्र गतिमा भइरहेको छ ।
बाँसगढी नगरपालिका–२ राँझा स्थिति भगवती टोलमा यहि वैशाख ३ गते वडा नम्बर २ का वडा अध्यक्ष घमण्ड चन्दबाट उद्घाटन गरिएको नहरको काम तिव्र पारिएको घट्टे खोला भगवती सिँचाई जलउपभोक्ता समितिका अध्यक्ष अजित कुमार मल्लले बताए ।
करिब ३० लाख लागतमा निर्माण हुन लागेको नहरको रु २० लाख सवडिभिजन सिँचाई कार्यालय बर्दियाको अनुदान र बाँकी जनश्रमदानमा निर्माण गरिन लागेको हो ।
सिँचाईको सुबिधा नभएको भगवती टोलको लागि सिँचाईको नहर निर्माण हुन थाले पछि टोलवासी हर्षित भएको समितिका अध्यक्ष अजित कुमार मल्लले बताए । सिँचाई सुबिधा नभएर जमिन सुक्खा भएर कृषकहरु समस्यामा परेका थिए ।
करिब २ महिनामा सक्ने लक्ष्य सहित निर्माण हुन लागेको नहरबाट भगवती गाँउका १ सय ५० बढी उपभोक्ता लाभाम्वित हुने समितिका अध्यक्ष मल्लले बताए ।
बाँसगढी नगरपालिका अन्तर्गत पर्ने २, ३, ४ लगायतका केही वडाहरुमा सिँचाईको सुबिधा नहुँदा किसानहरु आकासे पानी, पम्प सेट, बोरिङ र धारामा मोटर लगाएर सिँचाई गर्ने गरेको पाइन्छ ।
नगरपालिकाका केही ठाँउहरुका कृषकहरुलाई बबई सिँचाई नहरले सुबिधा दिएको भएपनि अधिकांश कृषकहरु सिँचाईको सुबिधा नहुँदा समस्यामा पर्ने गरेका छन् ।