प्रोत्साहन भत्ता नपाएको सुत्केरी महिलाहरुको गुनासो



नेपालगञ्ज, ६ बैशाख/  सरकारले दिदै आएको सुत्केरी भत्ता समयमै नपाएको नेपालगन्ज उप–महानगरपालिका २२ का सुत्केरी महिलाहरुले गुनासो गरेका छन् । बुधबार सरोकारवालासँग पुरैनीस्थित राधाकृष्ण स्वास्थ्य आमा समुहमा आबद्व सुत्केरी महिलाले आफुहरुले सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् ।

स्वास्थ्य संस्थामै सुत्केरी भएका महिलाले अझैसम्म पनि यातायात खर्च बाफतको रकम पाउन नसकेको गुनासो गरे । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा मातृ मृत्यु दरमा कमी ल्याउन तथा गर्भवती र सुत्केरी महिलाहरुलाई समेटेर गेरुवा ग्रामीण जागरण संघले राधाकृष्ण स्वास्थ्य आमा समुह निर्माण गरी गर्भवती अवस्थामा लगाउनुपर्ने खोप, सरकारको नियम अनुसार कम्तीमा पनि चार पटक स्वास्थ्य चौकी पुगेर चेकजाँच गराउनुपर्ने तथा समय र यस अवस्थामा घरमा भएको खानेकुरालाई कसरी पोषणयुक्त खाना बनाएर खाने भन्ने बारे जानकारी दिने गरेको छ ।

सोही समूहको अनुगमन गर्ने क्रममा वडा नम्बर २२ का अध्यक्ष बिद्याराम बर्माले गर्भवती महिलाहरुलाई नियमित रुपमा स्वास्थ्य परिक्षण गराउन आग्रह गर्नुभयो । स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले विभिन्न सेवा सुविधा दिने गरेको बताउदै उहाँले स्वास्थ्य संस्थामा नै सुत्केरी गराएर त्यसको लाभ लिनुपर्नेमा जोड दिनुभयो । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यप्रति वडा कार्यालय सधै जिम्मेवार हुने अध्यक्ष बर्माले बताए ।

नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखाका हरिहर तिवारीले २२ नम्बर वडामा घरमा नै सुत्केरी हुने महिलाहरुको सख्ङ्या धेरै रहेको बताउनुभयो । टोल–टोलमा रहेका आमा समुहले गर्भवतीको नियमित चेकजाँच र सुत्केरी स्वास्थ्य संस्थामा नै गराउनु सबैलाई सिकाउनुपर्ने उनले बताए । यद्दपी पछिल्लो समय बाँकेमा मातृमृत्य दरमा कमी आएको तिवारीले बताए ।

शुरु शुरुमा समूहमा आउने आमा तथा गर्भवतीहरुले छलफलमा लाज मान्ने र स्वास्थ्य संस्थामा जानुपर्ने कुरा जानेर पनि नगएको जस्तो देखिएको भएपनि यो कार्यक्रमले बिस्तारै स्वास्थ्य संस्थामा जाने बानीको बिकास गर्न सहयोग पु¥याएको स्वास्थ्य सहजकर्ता अनु चौधरीले बताउनुभयो । समूहमा बसेर क–कस्ले कति पटक गर्भवती जाँच गराएको, क–कस्ले कति आइरन खाएको र खानामा के के खाने गरेको भन्ने कुराको मुल्याँकन समेत गरिने हुँदा अहिले स्वास्थ्य संस्था जाने बढेको मापन गरिएको सहजकर्ता चौधरीको भनाई छ ।

गर्भवती महिला र ४५ दिनसम्मका सुत्केरी महिलाहरु रहने आमा समुहमा गर्भवती र सुत्केरी अवस्थामा आउने समस्या र समाधनका बारेमा छलफल गर्ने गरिएको गेरुवा ग्रामीण जागरण संघका स्वास्थ्य कार्यक्रम अधिकृत विधायक केसीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ६ गते बिहीबार