कविन्द्र परियार :कोहलपुर,२ बैशाख/ बाँकेको राप्तीसोनारी—९ महादेवास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुर्गम स्थानमा भएकै कारण विद्यालयको विकास नभएको गुनासो गरिएको छ ।
राप्तीसोनारी गाउँपालिकाको दुर्गम गाउँको रुपमा चिनिने महादेवागाउँ पूर्व–पश्चिम राजमार्गदेखि ५ किलोमिटर उत्तरमा पर्दछ । उक्त क्षेत्रमा रहेको झिझिरी खोलाका कारण सो क्षेत्रमा यातायातका साधन पुग्न सकेको छैन । यसमा कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाको ध्यान नपुगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलबहादुर खड्काले गुनासो गरेका छन् ।
‘अहिले वडापालिकाबाट ७ लाखको पर्खाल निर्माण गरिएको छ, हामीले पर्खालको कामलाई अन्तिममा पु¥याएका छौं । त्यही योजना दुर्गम ठाउँमा भएको विद्यालयलाई यति रकम भए पनि विनियोजन गरिएको खुसी लागेको छ,’ अध्यक्ष खड्काले भने ।
विद्यालयका प्रधानाध्यापक देवीराम थारुले विद्यालयहरुमा शौचालयको समेत राम्रो व्यवस्था नभएका कारण विद्यार्थीहरुले सास्ती झेल्नुपरेको बताए । महिलाहरुको लागि त झनै शौचालय नै छैन । विद्यालयको आम्दानीको स्रोत शून्य छ ।
३ जना शिक्षकहरुलाई तलबको व्यवस्थापन गर्न हम्मे परेको छ । सहयोगी संघसस्थाहरुको नजर सुगम र सडक केन्द्रित छन् । कहीँ कतैबाट सहयोग प्राप्त गर्न नभएको र कुनै सामग्रीहरु पनि आए पनि त्यो विद्यालयमा छोडिदिनु भनेर छोड्ने गरेको बताए ।
‘विद्यालय स्थापना भएको ३० वर्ष भयो, अहिलेसम्म कुनै पनि जिल्ला शिक्षा अधिकारी हाम्रो विद्यालयमा आएका छैनन्,’ प्रधानाध्यापक थारुले भने । विद्यालय व्यवस्थापन समितिका सदस्य शंकर दयाल थारुले ग्रमिण भेगमा भएको कारण विद्यालयको विकास हुन नसकेको बताए ।
जिल्ला शिक्षा कार्यालय बाँकेबाट १६ लाखको लगतका २ कोठे भवन बन्दै छ । त्यसबाहेक अरु कसैले पनि सहयोग नगरेकोे उनले बताए । सो विद्यालयमा शौचालयको राम्रो व्यवस्थापन छैन भने विज्ञानका कुनै पनि सामाग्री समेत छैनन् ।
विद्यालयका कम्प्युटर भए पनि चलाउन सक्ने जनशक्ति नभएका कारण त्यत्तिकै थन्किएको विद्यालयले जनाएको छ । विद्यालय क्षेत्रमा पुर्ण रुपमा पर्खाल नहुदाँ पशुचौपायले विद्यालयमा रहेका खानेपानीको धारा समेत भाचिँदिने गरेको बताइएको छ ।
बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादर थापाले अबको सम्पूर्ण रेखदेख गाउँशिक्षा समितिले गर्ने बताए । यता गाउँशिक्षा समितिसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
महादेवा गाउँबाट गाउँपालिकाको वडा कार्यालय पुग्न र कोहलपुर पुग्न उत्तिकै समय लाग्ने भएकाले त्यहाँका बासिन्दाहरु किनमेल तथा
अन्य कामका लागि कोहलपुरमा जाने गर्छन् ।









प्रतिक्रिया दिनुहोस्