देशले संघीयता धान्न सक्दैन: जनमोर्चा अध्यक्ष केसी



नेपालगञ्ज/   राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीले भारी बोकाएको संघीयता नेपालमा आवश्यक नरहेको बताएका छन्।

पार्टीले शनिबार नेपालगञ्जमा आयोजना गरेको ‘संघीयता र वर्तमान परिस्थिति’ विषयक अन्तर्क्रियामा अध्यक्ष केसीले  बताए। केसीले भने, ‘यो नेपालीको एजेन्डा नै होइन। आर्थिक हिसावले पनि नेपालले धान्न सक्दैन।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले एमाले र कांग्रेसले पनि संघीयता नचाहेको दावी गरे। ‘एमाले र कांग्रेस विदेशीको इशारामा फसेका हुन्। उनीहरुले संघीयता चाहेका थिएनन्, केसीले भने, बाहिर बोल्न सकेका छैनन् । भित्रभित्र गुम्सिएका छन् ।’

केसीले आफू उपप्रधानमन्त्री भएकै बेला सरकारले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउन दोस्रो संविधान संशोधन गर्दा आफूले विपक्षमा मत हालेको प्रसंग कोट्याउदै त्यतिबेलाको सरकार प्रमुखले आफुलाई नहटाउनु संघीयताको विरोध गर्ने मान्छे चाहिन्छ भन्ने भएर हो भने।

‘मैले सरकारको विपक्षमा मत हाले, किन हटाउनु भएन?’ एक दिन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका थिए। प्रधानमन्त्रीले जवाफ दिएछन्, ‘दुःख गरेर संविधान विरोधीलाई सरकारमा ल्याएका छौं, किन हटाउने ? तपाईले आफ्ना कुरा राख्नुस् ।’

सादा जीवनका प्रतिक मानिएका अध्यक्ष केसीले सांसद र मन्त्री भनेको देशको सेवा गर्नु नभई आफ्ना लागि लुट्न र कमाउनका लागि भएकाले यसले झन् संघीयतामा आर्थिक बोझ थप्ने बताए । उनले कांग्रेस र एमालेका शीर्ष नेताहरुले संघीयताको विरुद्धमा जनतालाई जागृत गराउन आफूलाई सहयोग गरिरहेको बताए ।

पार्टीका केन्द्रीय सदस्य बासुदेव पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर जाँदा संघीयताको आवश्यकता नपर्ने बताए । पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमाथि आधा दर्जन विशिष्ट व्यक्तित्वहरुले टिप्पणी गरेका थिए ।

जनमोर्चा, बाँकेका उपाध्यक्ष कृष्णप्रसाद पाण्डेका अनुसार, अध्यक्ष केसी, पूर्वमहासचिव हरि आचार्य, केन्द्रीय सदस्य पोखरेलको टोली देशव्यापी रुपमा संघीयता विरोध अभियान लिएर निस्केको जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २६ गते सोमबार