अर्थमन्त्रीको श्वेतपत्र झुटको पुलिन्दा : देउवा



काठमाडौं,२३ चैत/ कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो एक दशकमा तीनचौथाई समय सरकारमा बसेका कम्युनिष्टहरु नै मुलुकको बेथितिका मुख्य जिम्मेवार रहेको बताउनुभएको छ ।

शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अर्थमन्त्रीले हालै सार्वजनिक गरेको श्वेतपत्रमा ‘सफेद झुट’ बोलिएको बताउनु भएको हो । ‘पछिल्लो एक दशकका ९ वटा सरकारमा ७ वटामा कम्युनिष्ट प्रधानमन्त्री भए’, देउवाले भन्नुभयो, ‘मलुकलाई बेथितिमा लैजाने तिनै कम्युनिष्ट प्रधानमन्त्रीहरु हुन् ।’

देउवाले यसअघि कांग्रेस सभापति सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान घोषणा गरेर र आफ्नो नेतृत्वको सरकारले त्यही संविधानअनुसार तीनै तहको चुनाव सम्पन्न गरेर लोकतन्त्रलाई सुदृढ बनाएको बताउनुभयो । ‘संविधान जारी भएपछि पनिदुई दुईवटा कम्युनिष्ट प्रधानमन्त्री भए’, देउवाले बताउनुभयो, ‘खोई त उहाँहरुले चुनाव गराउन सक्नुभएको ? चुनाव गराउन कसैले रोकेको थियो ?’

देउवाले पछिल्लो दुई वर्षदेखि अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदै गएको बेलामा स्वेदेशी तथा विदेशी लगानीकर्ताहरुलाई निरुत्साहित गर्ने गरी अर्थमन्त्रीले सार्वजनिक गरेको श्वेतपत्रले मुलुकको अर्थतन्त्रमा निराशाको वातावरण बनाएको पनि बताउनुभयो । ‘अघिल्लो वर्ष दशकौँपछि आर्थिक वृद्धि सात प्रतिशत रह्यो’, देउवाले भन्नुभयो, ‘यो वर्ष ६ प्रतिशतको हाराहारीमा छ, अनि अर्थतन्त्र कसरी धरासायी भयो ?’

देउवाले आफ्नो कार्यकालमा मुद्रास्फृति ५ प्रतिशत कायम रहेको, पर्यटकको संख्या दश लाख पुगेको बताउँदै राष्ट्रिय ढुकुकटीमा दश अर्ब डलर बराबर संचिति रहेको र २५७ अर्ब सरकारी ढुकुटीमा नगद बचत रहेको अवस्थामा ढुकुटी रित्तो भन्नु गैरजिम्मेवारपूर्ण भएको बताउनुभयो ।-ujyaaloonline

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २३ गते शुक्रबार