नेपालगञ्ज,५ चैत/ मातृभाषामा पठनपाठन गराउन सहज होस् भन्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक नेपालगञ्जमा अवधी भाषाको पाठ्यसामाग्री निमार्ण गरिएको छ । विदेशी दातृ निकायको सहयोगमा नेपालभरीकै अवधी भाषी बालबालिकाका लागि उपयोगी हुनेगरी नेपालगञ्ज अवधी भाषाका २ सय ५० वटा पाठ्यसामग्री निमार्ण गरिएको हो ।
२२ जना अवधी लेखकहरुले ६ दिनसम्म निरन्तर खटिएर २ सय ५० वटा जति अवधी भाषाका पाठ्यसामाग्री तयार पारेका छन् । अब ती पाठ्यसामाग्रीको सम्पादन, परिक्षण र तस्विर तथा बाक्य एवं कथाको संयोजन भए नभएको बारेमा जाँच गरिने छ । लेखकहरुले विद्युतीय सफ्टवेयर ‘ब्लुम’ को प्रयोग गरेर सोही सप्फट्वेयरमा ती पाठ्यसामाग्री निमार्ण गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।
सरकारले विद्यालयहरुमा मातृभाषमा पठनपाठन गराउने निर्णय गरेपनि अधिकांश मातृभाषमा पाठ्यसामाग्री नहुँदा अझै धेरै मातृभाषामा पठनपाठन गराउन नसकिएको हुँदा अहिले तयार भएको पाठ्यसामाग्रीले धेरै सहयोग पुग्ने बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।
सो पाठ्यसामाग्री निर्माणका लागि यस क्षेत्रका २२ जना अवधी लेखकहरुको छनोट गरेर उनीहरुका लागि ६ दिवसीय कार्यशालाको आयोजना गरेर सोही कार्यशालामा अवधी पाठ्यसामाग्री निर्माण गरिएको विश्व शिक्षाका कार्यक्रम संयोजक सीमा आचार्यले बताए । उनले अब ती पाठ्यसामाग्रीलाई अवधीभाषी अध्ययनरत विद्यालयमा लगेर परिक्षण गरिने र परिक्षणपछि आएका सुझावलाई समेत पाठ्यसामाग्रीमा समावेश गरिने जनाए ।
विश्व शिक्षाको सहयोगमा बाँके युनेस्को क्लबले सो सामाग्री निमार्णको जिम्मेवारी पाएको थियो । पाठयक्रम विकास केन्द्रका पुरुषोत्तम घिमिरेले यो पाठ्यसामाग्री निर्माण, सम्पादन र परिक्षणपछि पाठयक्रम विकास केन्द्रले स्विकृति प्रदान गरेपछि मात्र अनलाइनमा राखिने बताए । त्यसपछि सो पाठ्यसामाग्रीलाई विश्वको जुनसुकै कुनामा पनि पढ्न र प्रिन्ट गर्न सकिने उनले बताए ।
अवधी लेखक विष्णु कुमालले अवधी भाषीको सम्मान गर्दै पहिलो पटक यो कार्य गरिएकोमा खुशी व्यक्त गर्दै आफूले ऐतिहासिक काम गरेकोमा गर्व लागेको प्रतिक्रिया दिए । यस्तै अर्का लेखक तथा शिक्षक सन्ध्या शर्माले हालसम्म अवधी बालबालिकालाई नेपाली किताबलाई अवधीमा अनुवाद गरेर पढाउनु परेकोमा अब यो पाठ्यसामाग्रीको निर्माणपछि पठनपाठन सजिलो हुने बताए ।
अहिले तयार गरिएको पाठ्यसामाग्रीको प्रयोग गर्न थालिएपछि अवधीभाषी बालबालिकाको पठनशिपमा सुधार हुनुका साथै उनिहरुलाई विद्यालयमा टिकाउन पनि ठुलो सहयोग पुग्ने अधिकांश अवधीभाषी शिक्षकहरुको भनाइ छ । अवधीभाषामा पाठ्यसामाग्रीको अभाव धेरै पहिलेदेखि नै महसुुस हुँदै आएकोमा अहिले आएर सो काम गर्न पाएकोमा धेरै ठुलो उपलब्धी हासिल भएको बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाले
बताए ।
तयार गरिएको पाठ्यसामाग्रीलाई अनलाइनमा राखेपछि कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई आफ्नै मातृ भाषामा पढन, लेख्न र सिक्ने कार्यमा सहजता हुनेछ । कार्यशालामा विद्युतीय सफ्टवेयर ‘ब्लुम’ र विषयबस्तुको बारेमा जानकारी गराई २ सय ५० पाठ्यसामाग्री तयार गरिएको छ ।
पाठ्यसामाग्री निर्माणमा पाठयक्रम विकास केन्द्रका पुरुषोत्तम घिमिरे, विश्व शिक्षाका कार्यक्रम संयोजक सिमा आचार्य, कार्यक्रम अधिकृतहरु सचिन खड्का र लाल बहादुर चौधरी, बाँकेका श्रोत व्यक्ति मुनिर अहमद खान, अवधी भाषाका पत्रकार राकेश मिश्र र सिराज खान लगायतले सहयोग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्