रावन बिश्वकर्मा : बाँसगढी,४ चैत/ बर्दियाको बाँसगढी नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले अझै छात्रवृत्ति पाएका छैनन् । विद्यालयहरुमा वार्षिक परिक्षा सञ्चालन भइसकेको भएपनि बाँसगढी नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्र्ने विद्यार्थीहरुले अझै छात्रवृत्ति पाउन सकेका छैनन् ।
हरेक वर्ष मंसिरदेखि पौष मसान्त सम्म छात्रवृत्ति पाईसक्ने विद्यार्थीहरुले चैत्र महिना लाग्दा पनि छात्रवृत्ति नपाएपछि छात्रवृत्ति नपाइने होकी भन्ने चिन्तामा परेका छन् ।
देश संघिय संरचना अनुसार स्थानिय सरकारले छात्रवृत्ति वितरणको लागि विद्यालयको खातामा रकम जम्मा गर्नुपर्ने भएपनि विद्यालयको खातामा रकम नपुगेपछि नगरपालिका सबै विद्यालयमा विद्यार्थीहरुले छात्रवृत्ति नपाएका हुन् ।
स्थानिय सरकार गठन भइसकेपछि नगरपालिकाले छात्रवृत्तिको रकम विद्यालयको खातामा जम्मा गर्नुपर्ने भए पनि अझै विद्यालयको खातामा रकम जम्मा नभएपछि विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्न नसकिएको नव प्रभात प्रावि बेलवाका प्रधानाध्यापक हरिस चन्द्र थारुले बताए ।
त्यस्तै द्वन्द्वपीडित, मुक्त कम्लरीहरुले पाउने छात्रवृत्ति वितरण गरिरहेको भए पनि नगरपालिकाबाट पाउने दलित छात्र–छात्रा र अन्य छात्राको लागि वितरण गर्दै आएको छात्रवृत्ति नगरपालिकाबाट नआएकाले वितरण गर्न नसकिएको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बाँसगढीका प्रधानाध्यापक निराजन चापागाँईले बताए ।
बाँसगढी नगरपालिकाका विद्यालय निरीक्षक रबिलाल मिजारले भने नगर शिक्षा शाखाबाट विभिन्न शीर्षकमा रहेको रकम निकास गरी लेखा शाखामा पठाएको करिब २ हप्ता भइसकेको बताए ।
उनले लेखा शाखाले सबै शाखाको काम हेर्नु पर्ने भएकाले केही ढिला भएको हुन सक्ने बताए । सामुदायिक विद्यालयमा अध्ययन गर्ने दलित छात्र छात्रा र अन्य सबै छात्राहरुलाई उनीहरुको प्रोत्साहनको लागि सरकारले हरेक वर्ष छात्रवृत्ति वितरण गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्