नेपालगञ्ज,१ चैत/ नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा क्रियाशील विभिन्न विद्यार्थी संगठनहरुले बुधबार क्याम्पस प्रमुख र शिक्षा संकायका सहायक क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेका छन् ।
मंगलबार शैक्षिक सुधारको माग गर्दै २४ घण्टे अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाएका विद्यार्थी संगठनहरुले आफूहरुको २४ घण्टे अल्टिमेटमको क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै तालाबन्दी गरेको विद्यार्थीहरुले बताएका छन् ।
अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारी विद्यार्थी संगठनहरुले मंगलबार ४ बुँदे मागसहितको ज्ञापनपत्र क्याम्पस प्रमुख गणेश रेग्मीलाई बुझाएका थिए ।
जायज मागको बेवास्ता गर्दै क्याम्पस प्रशासनले कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर तालाबन्दी गरिएको नेविसंघ इकाई सचिव चन्द्रप्रकाश देवकोटाले बताए ।
उनले माग पूरा नहुँदासम्म अनिश्चितकालिन ताला लगाइने बताए । स्थायी र करार प्राध्यापकहरुको कार्यभार सार्वजनिक गर्न र उनीहरुको शब्दमा अवैधानिक ढंगले गरिएको ‘आंशिक प्राध्यापक नियुक्ति’ बदर गर्न माग गरिएको छ ।
त्यस्तै स्नातकोत्तर तह सेमेस्टर प्रणालीका सबै कक्षाहरु बिहानी सेवामा सञ्चालन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरु पूर्णकालीन रुपमा क्याम्पसमा बस्नुपर्ने माग उनीहरुको छ ।









प्रतिक्रिया दिनुहोस्