कोहलपुर,२९ फागुन/ कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि माथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
सुखड क्षेत्रवाट तीन जनालाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेका अनुसार प्रहरीले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेकोले अहिले नै पक्राउ परेका ब्यक्तिहरुको नाम सार्वजनिक गर्न नमिल्ने जानकारी दिए ।
सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दाँया हातमा खुकुरीको गहिरो चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् । उनलाई पहिले खुकुरी र पछि गोली हानिएको थियो ।
घटना लगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई राति नै नेपालगंज मेडिकल कलेज ल्याइएको थियो ।
चौधरीलाई थप उपचारका लागि अहिले हेलिकप्टरबाट काठमाण्डौ लैजाने तयारी भइरहेको छ । नगर प्रमुख चौधरीको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्