व्यावसायिक मकैखेती प्रविधि विषयक तालिम सुरु



कोहलपुर,२८ फागुन/  बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियामा व्यावसायिक मकैखेती प्रविधि विषयक कृषक स्तरीय तीनदिने तालिम आइतबारदेखि शुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) को आयोजनामा भएको तालिमको उद्घाटन कार्यक्रममा सहभागीले मकै जोन कार्यक्रमले कृषकलाई फाइदा पुगेको बताए ।

सरस्वती मावि भंघोटनाको हलमा सुुरु भएको तालिममा सहभागीहरुले परियोजनाले कृषकका लागि उल्लेख्य काम गरेको बताउँदै परियोजनाबाट कृषकले फाइदा लिनु पर्ने धारणा राखे ।

मकै जोन सञ्चालक समितिका अध्यक्ष जयपाल मौर्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार यदुराज मिश्रले कृषकका लागि सरकारले परियोजना सञ्चालन गरेको बताउँदै परियोजनाबाट कृषकले फाइदा लिन सक्नु पर्ने बताए ।

२५ जना कृषकको सहभागिता रहेको तालिममा उनले मकै जोन कार्यक्रमले हिरमिनिया क्षेत्रका कृषकलाई उन्नत खेतितर्फ आकर्षित गरेको बताउँदै धेरैभन्दा धेरै फाइदा लिन कृषक चनाखो हुनुपर्ने धारणा राखेका थिए ।

गुरुदिन यादवले सञ्चालन गरेको तालिममा मकै उत्पादन, यान्त्रिकरण, प्रशोधन, बजारिकरण लगायत विषयमा कृषकलाई तालिम दिइने परियोजना प्रमुख मिश्रले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २८ गते सोमबार