13 June 2024  |   शुक्रबार, असार १, २०८१

विश्वकप क्रिकेट छनोटमा नेपाल आज अफगानिस्तानसँग खेल्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४  

काठमाण्डौं,२६ फागुन/   क्रिकेटमा नेपालको भेट फेरि एकपटक चीर प्रतिद्वन्दि देश अफगानिस्तानसँग हुँदैछ ।

आज जिम्बाबेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा आमनेसामने हुँदा दुवै देशलाई जित्नैपर्ने दवाव हुनेछ । तर यो दवाव नेपाललाई धेरै हुनेछ । प्रतियोगितामा यसअघिका दुवै खेल हारेको नेपाललाई आजको खेल जित्दै सुपरसिक्सको सम्भावना कायमै राख्नुपर्ने चुनौती छ ।

त्यसो त यसअघिका तीनै खेल हारेको अफगानिस्तानलाई पनि आज कम दवाव भने हुने छैन । प्रतियोगिताकै उपाधि विजेताका रुपमा चर्चा बटुलेर जिम्बाबे पुगेको अफगानिस्तान समूह चरणका सबै खेल हारेर घर फर्किन चाहदैन र यसका लागि आज उसलाई अन्तिम अवसर प्राप्त हुनेछ । त्यसो त सुपरसिक्समा पुग्ने अफगानिस्तानको गणितीय सम्भावना पनि बाँकी नै छ । अफगानिस्तानले नेपाललाई हराएमा, हङकङ जिम्बावेसँग पराजित भएमा र नेपालले हङकङलाइ हराएमा समूह ‘बी’ बाट सुपरसिक्समा पुग्ने तेस्रो देश अफगानिस्तान, नेपाल र हङकङ जुन पनि हुन सक्छ ।

यस्तो अवस्थामा नेपालका लागि अफगानिस्तानको खराब लय र अफगानिस्तानका लागि अहिलेसम्मको हेड टू हेडको नतिजाले प्रेरणा दिनेछन् ।
खेल बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

यसअघिका दुवै खेल नेपालले क्वीन्स स्पोर्टस क्लबको मैदानमा खेलेको थियो भने नेपालका लागि यो पीन नौलो हो । पूर्व निर्धारित खेल तालिकाअनुसार यस खेल पनि क्वीन्स स्पोर्टस क्लबमै हुनुपर्ने थियो । तर, आइसीसीले सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा खेलस्थल परिवर्तन गरेको हो ।

-ujyaaloonline.com

 

प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४     8:30:25 AM  |