कोहलपुर,२२ फागुन/ नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्तार गरिदा बाँकेले मन्त्री पाउने सम्भावना बलियो भएको छ । संघीय समाजवादी फोरम नेपालले सरकारमा जाने निर्णय गरेपछि बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मो. ईस्तियाक राई मन्त्री बन्ने सम्भावना बलियो भएको हो ।
राई मन्त्री बन्ने चर्चासँगै गृह जिल्ला बाँकेमा खुशियाली बढ्न थालेको छ । एमाले र माओवादीबाट मन्त्री नबन्दा निराश बाँकेबासीहरु राई मन्त्री हुँदा जिल्लाको विकासमा थप टेवा पुग्नेमा आशावादी देखिएका छन् ।
फोरम श्रोतका अनुसार, पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकार सहभागी हुँदा पार्टीका नेता राई मन्त्री बन्ने सम्भावना बलियो बनेको स्रोतले जनाएको छ । तर नेकपा एमाले र माओवादी केन्द्रसँग मन्त्रालयको भागवण्डामा पनि राई मन्त्री बन्ने वा नबन्ने निर्भर हुने स्रोतले जनाएको छ ।
फोरमले सरकारमा सहभागी हुनका लागि संविधान संशोधन लगायतका बिषयमा सहमतिसँगै तीन वटा मन्त्रालय र उपसभामुख माग गरेको छ । तर हालसम्म एमाले र माओवादीले दुई मन्त्री र एक राज्य मन्त्री दिन सकिने बताउँदै आएको स्रोतले जनाएको छ । पार्टी अध्यक्ष यादव मन्त्री भएपछि अर्को मन्त्रीमा राई दावेदार हुन् । फोरम नेतृ रेणु यादव समेत मन्त्रीको दावेदार हुन् ।
तर पश्चिम नेपाल र मुस्लिमको प्रतिनिधित्व गर्ने र प्रत्यक्ष निर्वाचित भएका कारण पार्टीका शक्तिशाली नेता राईको मन्त्री हुने सम्भावना बढि रहेको पार्टी सम्वद्ध नेताले बताए । राई प्रतिनिधीसभामा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई हराउँदै बाँके २ बाट करिब ५ हजार मतन्तारले विजयी भएका हुन् ।
राई २०६४ मा बाँके २ बाट निर्वाचित भएपछि एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा श्रम मन्त्री भएका थिए । भारतको लखनउबाट स्नाकोत्तर गरेका राई फोरम नेपालको राजनीतिक समितिको सदस्य हुन् ।
-lokpriyanews.com









प्रतिक्रिया दिनुहोस्