कोहलपुर,२० फागुन/ व्यावसायिक तरकारी खेतीमा आम्दानी बढ्दै गएपछि बाँकेको बनकटुवा क्षेत्रका अधिकांश किसानले धान, मकै र गहुँ खेती छाडेर तरकारी खेती गर्न थालेका छन् ।
धान, मकै र गहुँको खेतीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि साविकको बनकटुवा गाविसको बनकटुवा, पेडारीलगायतका गाउँका थारू समुदायका अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् ।
अन्य खेतीको तुलनामा व्यावसायिक तरकारी खेती गर्न थालेपछि दैनिकी पनि सहज भएको किसानको भनाइ छ । आफुले दश कठ्ठा जग्गामा तरकारी खेती मात्र गर्दै आएको बनकटुवा पेडारी गाउँका कृषक लोहारे थारूले बताए ।
तरकारी खेती सुरु भएपछि बचतसमेत गर्न सफल भएको उनले बताए ।बनकटुवाका अर्का कृषक जितबहादुर थारूले धान खेती गरिरहँदा सोचेअनुरूप उत्पादन नभएपछि अहिले अलिकति जग्गामा खानका लागि मात्र धान रोप्ने र अन्य सबै जग्गामा तरकारी खेती गरिरहेको बताए ।
दस क्विन्टल मात्र धान उत्पादन हुने खेतमा तरकारी खेती गर्दा साढे चार लाख रुपियाँसम्म आम्दानी हुने भएको किसानहरूको भनाइ रहेको छ । धान, गहुँ र मकै बालीभन्दा तरकारी ७५ प्रतिशत बढी उत्पादन हुने गरेको किसानहरूले बताए ।
धान उत्पादनमा लागत बढी हुने र आम्दानी त्यसअनुरूप नहुँदा कम लगानीमा बढी मुनाफा हुने भएकाले तरकारी खेतीतर्फ उनीहरू आकर्षित भएका हुन् । धानखेती छोडेर व्यावसायिक तरकारी खेतीमा लागेका किसानलाई जिल्ला कृषि विकास कार्यालयले पनि सहयोग गरिरहेको बताए ।
सो कार्यालयले किसानलाई आधुनिक तरिकाले बेमौसमी तरकारी खेती प्रविधि सिकाउनुका साथै बीउ उपलब्ध गराउने गरेको र मलखादबारे पनि जानकारी गराउँदै आएको जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रवक्ता धनबहादुर पुनले बताए ।









प्रतिक्रिया दिनुहोस्