२५ प्रतिशतले मात्रै खाए हात्तीपाईलेको औषधी



नेजालगञ्ज,१७ फागुन/   बाँकेको विकट मानिने नरैनापुर गाउँपालिकामा दुई दिनमै करिब ९० प्रतिशतभन्दा बढीले औषधि सेवन गरेपनि  नेपालगन्ज नगरपालिकामा भने २५ प्रतिशतले मात्रै औषधि सेवन गरेका छन् । नगरपालिकामा कम मानिसले औषधि सेवन गरेकाले जिल्लामा औषधि प्रयोगको प्रतिशत घटेको देखिएको हो ।

जति प्रयास गर्दा पनि नेपालगन्जमा हात्तीपाइलेविरुद्ध औषधि प्रयोगकर्ता बढ्न नसकेको र औषधि सेवन गराउने प्रयास भने जारी रहेको जिल्ला जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले बताए ।

नेपालगन्जमा औषधि सेवन गराउन जनप्रतिनिधिहरूसँग छलफल गरिरहेको समेत उनले बताए । बुथमा औषधि प्रयोग गर्न छुटेका सर्वसाधारणका लागि स्वास्थ्य कार्यकर्ता र स्वास्थ्यकर्मीले घरदैलो गरिरहेका छन् ।

उनीहरूले घरमै पुगेर औषधिको फाइदाबारे जानकारी दिँदै प्रयोग गर्न लगाइरहेका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारणले निर्वाधरूपमा औषधि सेवन गरिरहँदा नगरमा भने यो अभियान सफल हुन सकिरकेकोे छैनरु। जनस्वास्थ्यले भने घरघर पुगेर भए पनि नगरका सर्वसाधारणलाई औषधि प्रयोग गर्न लगाउने जनाएको छरु।

नेपालगन्ज नगरमा हात्तीपाइले रोगविरुद्व औषधि प्रयोगबारे भ्रम फैलाइएका कारण औषधी प्रयोग गर्न नमानेको बताइएको छ । औषधि प्रयोगपछि बिरामी हुने, मृत्युसम्म हुनेजस्ता गलत प्रचारले नगरमा अभियान सफल हुन नसकेको हो ।

औषधिले जीवाणु मरेपछि हात्तीपाइलेको जोखिमबाट जोगिने सन्देशले व्यापकता पाउन सकेको छैन । यसलाई विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेकोले भ्रममा नपरी निर्धक्कसंग औषधी सेवन गर्न बाँकेका स्वास्थ्य प्रमुख खड्काले अनुरोध गरेका थिए ।

तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती महिला, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा माथिका र २४ घण्टाभित्र ज्वरो आएका र कडा कुपोषण भएका ५ वर्षमुनिका बालबालिकालाई औषधि सेवन नगर्न चिकित्सकले सुझाव दिएका छन् ।

त्यसबाहेक जोसुकै व्यक्तिले ढुक्क भएर औषधि प्रयोग गर्न सक्ने उनीहरूको अनुरोध छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १७ गते बिहीबार