18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

हात्तीपाईले रोग विरुद्ध औषधी खुवाउन शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४  

सुदीप अधिकारी/रावन विश्वकर्मा : बर्दिया,१३ फागुन/   बर्दिया जिल्लामा हात्तीपाइले रोग निवारणको ७ औँ अभियान सुरु भएको छ । २०६८ साल देखि सुरु भएको हात्तीपाईले रोग निवारण गर्ने अभियान यस वर्ष पनि शनिबारदेखि सुरु भएको छ ।

यो अभियान ३ दिनसम्म संचालन हुने बताइएको छ । शनिबार एक कार्यक्रमका बिच जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि एवं संचारकर्मीहरुले संयुक्त रुपमा हात्तीपाइले रोगको औषधि सेवन गरी अभियान शुभारम्भ गरिएको हो ।

हात्तीपाईले रोग निवारण गर्ने अभियान संचालन भएको यो ७ औं बर्ष हो । अघिल्लो बर्ष जिल्लामा गरिएको प्रारम्भिक सर्भेक्षणमा बर्दियामा ३९ प्रतिशतमा
हात्तीपाईले रोगको संक्रमण देखिएको थियो ।

अघिल्लो वर्ष अभियानको अन्तिम वर्ष भनिएपनि हात्तीपाइले रोगको संक्रमित व्यक्तिहरु पुनः भेटिएपछि यस वर्ष पनि अभियान संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । यस पटक कुल ४ लाख ३३ हजार २ सय ८० जनालाई हात्तीपाइले औषधी खुवाउने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ ।

औषधी खुवाउनका लागि जिल्लाभरमा २ हजार १ सय ५० केन्द्र राखिएको छ । यो अभियानमा २ सय ५० जना स्वास्थ्यकर्मी,८ सय ४१ महिला स्वयमसेविका र १ हजार ५९ जना अन्य स्वयमसेवक परिचालन भएका छन् ।

नियन्त्रण महाशाखाले बर्दिया जिल्लालाई हात्तीपाईले रोग संक्रमणको दृष्टिले नेपालकै उच्च जोखिमको सूचिमा राखेको छ । गत बर्ष बर्दियामा ८३ प्रतिशतले हात्तीपाईले विरुद्धको औषधि सेवन गरेका थिए ।

यस वर्ष बर्दियामा ९० प्रतिशत जनसंख्यालाई औषधि सेवन गराउने लक्ष्य लिइएको छ । विगतका वर्षहरुमा परिवारका सदस्यले स्वयंसेवकबाट औषधी मागेर घर लिएर जाने गर्दछे ।

घरमा लिएको औषधि खए नखाएको यकीन नभएपछि यस वर्ष औषधि घरमा लैजान नपाईने र स्वयंसेवकको अगाडी औषधि सेवन गर्नुपर्ने
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए ।

सन् २००३ देखि नेपालमा हात्तीपाईले रोग निवारण अभियान संचालन गरिएको थियो । हाल नेपालका हिमाली र उच्च पहाडी जिल्ला बाहेक २४ जिल्लामा हात्तीपाईले रोग निवारण अभियान संचालनमा छ ।

नेपालमा २ करोड ५० लाख जनसंख्या हात्तीपाईले रोगको उच्च जोखिममा रहेका छन् । नेपालले सन् २०२० सम्ममा हात्तीपाईले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै हातिपाईले रोग विरुद्धको औषधी खुवाउने अभियानलाई प्रभावकारी बनाउन मेयर सालिकराम अधिकारीले आफै औषधी वितरण गरेका छन ।
अधिकारीले बाँसगढी नगरपालीका बिभिन्न ठाँउमा पुगि सर्वसाधारणहरुलाई आफ्नै हातबाट औषधी वितरण गरेका हुन् ।

उनी बाँसगढी नगरपालिकाको बेलुवा स्वाथ्य चौकी, बेतहनी, नौलाबगिया, शान्ति समाज प्रावि शान्तिपुर, चौधरीपुर, बभनपुर, सगाहापुर लगायतका ठाँउमा पुगेका थिए ।

शनिवार हात्तिपाईले रोग विरुद्धको ७ औँ चरणको औषधी खुवाउने अभियानलाई प्रभावकारी सँगै सबैलाई खान प्रेरित गर्न बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीको नेतृत्वमा नगरपालिका विभिन्न औषधी खुवाउने स्थलहरुमा पुगि खाएको नखाएको अनुगमन सहित सबैलाई आन प्रेरित गरिएको छ ।

बाँसगढीमा नगरप्रमुख अधिकारीले हात्तिपाइलेको औषधी आएर उद्घाटन गरे भने प्रत्येक वडामा वडा अध्यक्षले औषधी खाएर उद्घाटन गरे । औषधी शनिबार खान छुटेकालाई १३ र १४ गते घरघरमा गएर खुवााईने कार्यक्रम समेत रहेको छ ।

बाँसगढी नगरपालीकामा औषधी खुवाउनको लागी स्वास्थ्यकर्मी र महिला स्वास्थ्य संयमसेबिका गरी २ सय ५ जन शक्ति परिचालन गरिएको छ ।
औषधी २ वर्ष मुनिका बच्चा, गर्भवति महिला, ७ दिन भित्रका सुत्केरी आमा, गम्भीर प्रकृतिक रोग जस्तै मुटु, मृगौला, दम छहरे, धेरै कुपोषित र ओछ्यानमा परेका विमारीहरुले भने औषधी खान नहुने बाँसगढी नगर स्वास्थ्य संयोजक सुरेश कुमार रेग्मी बताए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४     7:53:46 AM  |