कैलाली,११ फागुन/ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।शुक्रबार सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको टुंगो लागेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
शुक्रबार भएको पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलमाथि ९८ रनको शानदार जित हासिल गर्दै अन्तिम चारमा स्थान बनाएको हो । शुक्रबार नै भएको दोस्रो खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदूरपश्चिममाथि १२ रनको जित दर्ता गर्यो ।
शुक्रबारको पहिलो खेलमा कप्तान रुबिना क्षत्रीको उत्कृष्ट प्रदर्शनको मद्दतमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई फराकिलो अन्तरले हराउँदै समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १३४ रन बनाएको थियो ।
पूर्वाञ्चलका लागि काजोल श्रेष्ठले ४२, कप्तान क्षत्रीले ४१ र रोमा थापाले २५ रनको योगदान दिए । मध्यपश्चिमाञ्चलकी अनुपमा गिरी, नेरी थापा र साया बस्नेतले समान १/१ विकेट लिए ।
जवाफमा १३५ रनको विजयी लक्ष्य पच्छ्याएको मध्यपश्चिमाञ्चल १९ ओभरमा सबै विकेट गुमाउँदै ३६ रनमै समेटियो । मध्यपश्चिमाञ्चलले १२ रन अतिरिक्तकारुपमा पाएको थियो ।
मध्यपश्चिमालका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडीले खातासमेत खोल्न सकेनन् । उसका लागि सीता मगरले ६ तथा शान्ति खत्री र श्रृष्टि डाँगीले समान ४/४ रन जोडे ।
मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्नेक्रममा पूर्वाञ्चलकी कप्तान क्षत्री, अनुपमा चौधरी र संगम तामाङले समान २/२ विकेट लिए ।खेलको ‘प्लेयर अफ दी म्याच’ पूर्वाञ्चलकी कप्तान रुबिना क्षत्री घोषित भइन् ।
मध्यमाञ्चल समूह विजेता
शुक्रबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिममाथि १२ रनको जित निकाल्दै मध्यमाञ्चल समूह विजेता बनेर सेमिफाइनलमा पुग्यो । टस जितेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित् २० ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।
मध्यमाञ्चलका लागि सीता श्रेष्ठले २३, अस्मिता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती बिराडीले समान १४/१४ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमकी कविता जोशीले ४ तथा कविता कुँवर र लक्ष्मी साउदले समान १/१ विकेट लिए ।
१०६ रनको लक्ष्यसहित मैदान उत्रिएको घरेलु टोली सुदूरपश्चिमले २० ओभरमा ३ विकेटको क्षतिमा ९३ रनमात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि कविता कुँवरले २२ रन बनाइन् भने कप्तान मञ्जु बोगटीले ८ रनको योगदान गरिन् ।
बलिङमा उत्कृष्ट प्रदर्शन गरेर तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी कविता जोशीले अविजित रहँदै ३९ रन बनाएपनि आफ्नो टिमलाई जिताउन सकिनन् । खेलको ‘प्लेयर अफ दी म्याच’ मध्यमाञ्चलकी सीता श्रेष्ठ घोषित भइन् ।
प्रतियोगिताअन्तर्गत् शनिबार हुने सेमिफाइनलमा मध्यमाञ्चलले पूर्वाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, सुदूरपश्चिमलले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
सेमिफाइनलका दुवै खेल शनिबार फाप्ला क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको विजेता टिमले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछ ।