विश्वकप छनोट क्रिकेट खेल्न जाने टोलीको बिदाइ, खेलाडीले पाए ४/४ लाख



काठमाडौं,११ फागुन/  जिम्बाब्वेमा आइसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता खेल्न जान लागेको नेपाली राष्ट्रिय टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिदाइ गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीले टोलीको बिदाइ गरेका हुन् ।

अघिल्लो साता नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेट प्रतियोगिताको उपविजेता बन्दै नेपाली टोलीले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको हो ।

खेलाडीले पाए ४/४ लाख
शुक्रबार आयोजित बिदाइ कार्यक्रममा खेलाडीलाई सरकारले घोषणा गरेको जनही ३ लाख रुपैयाँ पनि प्रदान गरिएको छ ।

डिभिजन–२ को उपविजेता बनेर फर्किएको टोलीलाई केही दिनअघि प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट सम्मान गर्दै जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।

यस्तै, मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि खेलाडीहरुलाई जनही १ लाख रुपैयाँ प्रदान गरेको छ ।

नेपाल समूह ‘बी’मा
टेस्ट खेल्ने ४ राष्ट्रसहित कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकप छनोट प्रतियोगिताबाट शीर्ष २ टोलीले आगामी वर्ष इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेटमा स्थान बनाउनेछन् ।

आयोजक जिम्बाब्वे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङसँगै नेपाल प्रतियोगिताको समूह ‘बी’मा रहेको छ ।

नेपाली टोलीका कप्तान पारस खड्काले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न नेपाली टोलीले कुनै कसर बाँकी नराख्ने बताए ।

प्रकाशित मिति : २०७४ फागुन ११ गते शुक्रबार