24 September 2023  |   आइतवार, अशोज ७, २०८०

आफ्ना माग सम्बोधन नभएको भन्दै विद्यार्थीहरु आन्दोलित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४  

नेपालगन्ज, ११ फाल्गुन/   लामो समयदेखि विभिन्न ११ बुंदे माग गर्दै आएका विद्यार्थीहरुले आफ्नो मागको सुनवाई नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस प्रशासन विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

विद्यार्थीहरुले प्रशासन विरुद्ध नारावाजी गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् । चार हजार विद्यार्थीमाथि क्याम्पस प्रशासनले खेलवाड गरिरहेको भन्दै विद्यार्थीहरुले ११ बुंदे माग सहित आन्दोलनमा उत्रिएको जनाएका हुन ।

नियमित पठन पाठन हुनुपर्ने, विज्ञान संकायको प्रयोगशाला र इ लाइवेरी व्यस्थित हुनुपर्ने, विद्यार्थीहरुको पोषाक एक रुपता कायम गर्नुपर्ने, अपारदर्शि ढंगबाट गरिएका शिक्षक कर्मचारीहरुको नियुक्त खारेज गरिनुपर्ने, क्याम्पसमा सम्पुर्ण प्रशासन फांटहरु मर्ज गर्नुपर्ने जस्ता ११ बुंदे माग सहित क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएको अनेरास्वावियुका जिल्ला सचिव टेकेन्द्र मल्लले बताए ।

विद्यार्थीहरुको भविष्यमाथि प्रशासनले खेलवाड गर्दै आएको र शैक्षिक क्षेत्र जस्तो संवेदनशिल पेशा रहेको क्याम्पसले विद्यार्थीहरुको मागलाई वेवास्था गरी आफ्नै ढंगले संचालन गरेको जिल्ला सचिव मल्लले बताए । क्याम्पस प्रशासनले अबको मागलाई सम्बोधन नगरे कडा आन्दोलन चर्काउने मल्लले बताए ।

११ बुंदे मागलाई प्रशासनले ३ दिनभित्र कार्यन्यवन नगरे सशक्त आन्दोलनमा उत्रिने विद्यार्थीहरुले चेतावनी दिएका छन् । ज्ञापन पत्रमा अनेरास्ववियु –क्रान्तिकारीका जिल्ला संयोजक सुरेन्द्र जंग शाह, अनेरास्ववियुका जिल्ला सचिव टेकेन्द्र मल्ल, अखिल क्रान्तिकारी विप्लव निकटका जिल्ला अध्यक्ष मदन चन्द, नेकरावि संघका जिल्ला अध्यक्ष नर नेपाली, नेपाल विद्यार्थी संघका जिल्ला सह सचिव चक्र रावत, अखिल छैठौंका जिल्ला अध्यक्ष नवराज चन्द लगायतले हस्ताक्षर गरेको ११ बुदे माग नेपालगन्ज उपमहानगरपालिकालाई समेत जानकारी गराएको टेकेन्द्र मल्लले बताए ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४     7:05:45 PM  |