ग्लोबल आईएमईद्वारा दिपेन्द्रसिंह ऐरीलाई प्रायोजन



काठमाडौं,१० फागुन/  ग्लोबल आईएमई बैंकले राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई प्रायोजन गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकले ऐरीसँग वार्षिक ४ लाख बराबरको प्रायोजन सम्झौता गरेको हो ।

सम्झौताअनुसार ऐरीले ग्लोबल आई एम ईबाट मासिक २० हजार रुपैयाँ १ वर्षसम्म पाउनेछन् । बाँकी रकम बराबरको भने किट उपलब्ध गराउने कार्यक्रममा जानकारी दिइयो । सम्झौतापछि ग्लोबल आई एम ईका सीईओ जनक शर्मा पौडेलले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका क्रिकेटका खेलाडीलाई ब्राण्ड एम्बेसडर बनाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘क्रिकेटरहरुले आफ्नै बलबुताले यती राम्रो प्रदर्शन गरिरहेका छन्, सरकारी र निजी क्षेत्र मिलेर उनीहरुको स्तर वृद्धिमा लाग्नुपर्छ ।’

सीईओ पौडेलले दुई खेलाडीलाई सहयोग गर्ने नीति रहेको र छिट्टै अर्का खेलाडीलाई पनि छनोट गरी प्रायोजन गरिने बताउनुभयो । उहाँले आशन्न विश्वकप छनोटमा सहभागी हुन जाने नेपाली टोलीलाई जितको शुभकामना पनि दिनुभयो ।

कार्यक्रममा क्रिकेट टोलीका कप्तान पारस खड्काले व्यवसायिक क्षेत्रबाट भएका यस्ता कार्यक्रमले खेलाडीलाई प्रेरणा मिल्ने भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १० गते बिहीबार