कोहलपुर महोत्सवको भव्य रुपमा समापन



कोहलपुर,९ फागुन/   कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ बुधबार भव्य रुपमा सम्पन्न भएको छ । महोत्सव माघ २६ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन भएको थियो ।

समापन कार्यक्रममा बोल्दै बाँके निर्वाचन क्षेत्र नंंं. १ (ख) प्रदेश सभा सदस्य आरती पौडेलले कोहलपुरको आर्थिक विकासमा यस्ता महोत्सवहरुले महत्वपूर्ण भूमिका खेल्ने उनले बताईन् ।

आर्थिक विकासको प्रमुख मेरुदण्ड नै उद्योग व्यवसाय भएकाले यसको विकास र समृद्धिका लागि राज्यले विशेष नीति लिनुपर्ने बताईन् ।
कार्यक्रममा बोल्दै मुख्य प्रायोजक शिखर ग्रुप अफ इन्डष्ट्रिज प्रा.लि.का सञ्चालक चम्पालाल बोथाराले बोल्दै यस्ता महोत्सवबाट स्थानिय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

साथै उनले आर्थिक विकासका लागि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले महोत्सवमा आर्थिक रुपले सहयोग गर्नुहुने मुख्य प्रायोजक, उपमुख्य प्रायोजक, सहमुख्य प्रायोजक, प्रायोजक र सहप्रायोजक लगायत अवलोकन गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिएका छन् ।

त्यस्तै उनले महोत्सव अवधिभरी नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुने क्रियाशिल राजनीतिक दल, नागरिक समाज, रेडक्रस, कोहलपुर मेडिकल कलेज, कालिका कन्ट्रक्सन, कोहलपुर नगरपालिका, नगर विकास समिति, खानेपानी, विद्युत प्राधिकरणदेखि विभिन्न संघसंस्थालगायत अहोरात्र खटिरहने इलाका प्रहरी कार्यालय कोहलपुर, सशस्त्र प्रहरी बल त्रिपुरा गण, दंगा प्रहरी नेपालगञ्ज, हलचल सुरक्षा ग्रुप फाइभ, क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुर र सम्पूर्ण कर्मचारीहरु प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

त्यस्तै कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न भएको महोत्सवबाट संकलित भएको रकमबाट कोहलपुर उद्योग वाणिज्य संघको अत्याधुनिक भवन निर्माण गर्ने लक्ष्य लिईएको छ । त्यस्तै महोत्सवमा कुल तीन सय स्टल मध्ये सूचना प्रविधिलाई १५ वटा स्टल, अटो रिक्सा अन्तर्गतका दुई पाङ्ग्रे, तीन प्राङ्ग्रे र चार पाङ्ग्रेलाई ८ वटा स्टल, व्यवसायिक स्टल २ सय, अन्य कृषि, फलफुल, जडिबुटि, सेवा एवम् शिक्षण मुलक, महिला उद्यमी स्टल ५०, होटल १८ वटा, थारु गाउँका लागि ११ वटा स्टल रहेका थिए ।

प्रकाशित मिति : २०७४ फागुन ९ गते बुधबार