24 September 2023  |   आइतवार, अशोज ७, २०८०

वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्न जालीसहितको तारबार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४  

सुदीप अधिकारी : बर्दिया,९ फागुन/   निकुञ्जका वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्नका लागि जालीसहितको विद्युतीय तारवार लगाइएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका–७ मोहनपुर गाउँमा जालीसहितको विद्युतीय तारवार निर्माण गरिएको छ । वन्यजन्तु बढी ओेहरदोहर गर्ने पहिचान गरी १ हजार १ सय मिटर क्षेत्रफलमा जालीसहितको तारवार लगाइएको हो ।

ठाकुरबाबा नगरपालिकाको अनुदान १० लाख रुपैयाँ, बर्दिया राष्ट्रिय निकुञ्जको सहयोग ९ लाख रुपैयाँ र स्थानीय जनसहभागिताको २ लाख ३४ हजार १६ रुपैयाँ गरी जम्मा २१ लाख ३४ हजार १६ रुपैयाँको लागतमा तारवार निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष जनकलाल चौधरीले जानकारी दिए ।

जंगली जनावरहरुबाट सुरक्षित रहनका लागि विद्युतीय तारबार निर्माण गरिएको ठाकुरबाबा नगरपालिकाका वडाध्यक्ष पदम खड्काले बताए । विद्युतिय तारबारबाट मात्र सुरक्षित नभएपछि जालीसहितको विद्युतीय तारवार गरिएको हो ।

ठाकुरबाबा नगरपालिकाका मध्यवर्ती क्षेत्रका बासिन्दा वर्षौदेखि हात्ती, गैंडा, बँदेल, चित्तललगायतका जंगली जनावरको आक्रमणमा पर्ने गरेका छन् । वन्यजन्तुले बालीनाली नोक्सान गर्ने, घरगोठ भत्काउने, मानिसको ज्यानसमेत लिने गरेको छ ।

जालीसहितको तारवार विद्युतीय र सौर्य उर्जा दुवैको प्रयोगबाट सञ्चालन हुने छ । जालीसहितको तारवार ५ फिट अग्लो छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४     7:07:42 AM  |