25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

हात्तिपाई रोग विरुद्धको औषधी खुवाइने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४  

कोहलपुर,९ फागुन/  बाँकेमा आगामी फागुन १२ गतेदेखि १४ गतेसम्म हात्तिपाईले रोग विरुद्धको औषधी खुवाइने भएको छ ।हात्तिपाईलेको जोखिम रहेका तराइका विभिन्न जिल्लासंगै बाँकेमा पनि हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउन थालिएको हो ।

मंगलबार नेपालगन्जमा नगर स्तरीय भेला कार्यक्रमको आयोजना गरी हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने बारे जानकारी गराइएको हो । पहिलो दिन टोलटोलका बुथ सेन्टरहरुमा औषधी खुवाउने, दोस्रो दिन घरघरमा स्वास्थ्य स्वयम सेविकाहरु पुगेर औषधी खुवाउने र छुटेकाहरुलाई तेस्रो दिन खुवाउने गरी कार्यक्रम बनाइएको छ ।

हात्तिपाईले रोगको न्युनिकरण नभएपछि जिल्लामा अभियान शुरु गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय नेपालगन्जले जनाएको छ । बाँकेमा ७ वर्ष अगाडी हात्तिपाइले विरुद्धको औषधी सेवनपछि ४ जनाको मृत्यू भएपछि औषधी सेवनका लागि सर्वसाधारणहरु डराउने गरेका छन् ।

सोही कारण हात्तिपाईले रोग विरुद्धको अभियानमा बाँकेले सफलता हासिल गर्न सकेको छैन । तर चिकित्सकहरुले भने हात्तिपाईले रोग विरुद्धको औषधी सेवनबाट कुनै हानि नहुने ठोकुवा गरेका छन् ।

बाँकेमा ग्रामीण क्षेत्रको तुलनामा उपमहानगरपालिका भित्रै औषधी सेवन गर्ने सर्वसाधारणको कमी भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रशासक खिम बहादुर खडकाले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार यो आठौ चरणको कार्यक्रम हो । सातौ चरण सम्म औषधी खुवाएर अभियान पुरा हुने भएपनि बाँकेमा यस अगाडिका कार्यक्रमहरुमा औषधी खानेहरुको संख्या कम भएकाले आठौं चरणमा औषधी खुवाउने कार्यक्रम राखिएको हो ।

बाँकेमा ५ लाख ३५ हजार ७ सय ९७ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ । त्यसको लागि २ हजार ३ सय बढि स्वास्थ्य स्वयंसेवकहरु र ३ सय ४६ जना स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ ।

दुई वर्ष नपुगेका बालबालिका, गर्भवती आमाहरु र ७ दिनसम्मका सुत्केरी आमाहरुले यो औषधी नखान कार्यालयले बताएको छ । यस्तै सिकिस्त विरामीहरु दैनिक क्रियाकपाल गर्न नसक्ने, ओछ्यानमा परेको, कलेजो, मृगौला, फोक्सोको दीर्घ रोगीहरुले औषधी सेवन गर्न नहुने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४     7:01:47 AM  |