भीम रावत : कोहलपुर,८ फागुन/ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कोहलपुर नगरपालिका एवं नगरकार्यपालिकाको आयोजनामा कोहलपुरमा सोमबार बिहान प्रभातफेरि निकालिएको छ । प्रभावफेरि कोहलपुरको चौराहबाट शुरु भई नेपालगञ्ज–सुर्खेत सडकखण्डको साझाचोक हुँदै पुनः कोहलपुर चौराह पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
प्रभावफेरिमा कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावत , नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु , कोहलपुर नगरपालिका भित्रका स्वास्थ्य स्वयमसेविकाहरु , नगरपालिका कर्मचारीहरु, नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी , क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख सहितको टोली, पत्रकारहरु , राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु,संघ संस्थाका प्रतिनिधिहरु ल्गायतको उपस्थिति रहेको थियो । प्रभातफेरिमा सशस्त्र प्रहरी बल त्रिपुरा गणको ब्याण्डबाजाको टोली समेत रहेको थियो ।
प्रभावफेरि पश्चातको औपचारिक कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले नेपाली जनताले आफ्ना पुर्खाहरु शहिद भएर प्राप्त गरेको स्वतन्त्रता र अधिकारको प्रयोग गरिरहेको स्मरण गर्दै यस्तो अवसरमा करबलले होइन आफैले बुझेर सहभागी हुनु पर्ने बताए । नगरसरकारले आयोजना गरेको राष्ट्रिय दिवसमा सहभागिताका लागि सबैलाई आग्रह –अनुरोध गर्दा पनि निजामती कर्मचारीहरुको न्यून उपस्थिति रहनु सरकारको कार्यक्रमलाई न्युन मुल्याङ्कन गरेको वा सरकारलाई नटेरेको हो कि जस्ता आफूलाई अनुभूती भएको प्रमुख रावतको भनाई थियो ।
सरकारी कार्यक्रममा सरकार कै निकायहरुको उपस्थिति न्यून रहेकोमा रावतले दुखेसो पोख्दै रावतले करबल नगरेकाले नपत्याएको हो कि भन्ने लागेको बताए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद देवराज भारले जहाँनिया राणा शासनको विरुद्ध चार जना शहिदहरुले देखाएको बाटोबाटै नेपालमा बि.स. २००७ सालमा प्रजातन्त्र आएको स्मरण गर्दै यो राष्ट्रिय दिवसलाई भव्यरुपमा मनाउन आवश्यक रहेको बताए ।
त्यस्तै कार्यक्रममा वडा नं.१० का अध्यक्ष निम बहादुर चलाउने , वडा न.ं ११ का अध्यक्ष कर्ण बहादुर थापा, नगरकार्यपालिका सदस्य नारायणी वली लगायतले प्रतातन्त्र दिवसको बारेमा आफ्नो भनाई राखेका थिए । कार्यक्रम नगरकार्यपालिका सदस्य डिल बहादुर परियारको सञ्चालन र नगर प्रमुख लूट बहादुर रावतको सभापतित्वमा सम्पन्न भएको थियो ।
६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको दिन फागुन ७ लाई नेपालमा राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था आएको सम्झनामा मनाउँदै आइएको छ । बि.स.२००७ साल फागुन ७ गते नेपालमा १०४ वर्ष लामो राणा शासनको अन्त्य भई प्रजातान्त्रिक अधिकारहरु नेपाली जनताले पहिलो पटक प्राप्त गरेका थिए ।