बाँकेमा नियमविपरीत अटोरिक्सा सञ्चालनमा



कोहलपुर,४ फागुन/  यातायात व्यवस्था ऐनले अटोरिक्सा, टेम्पोहरु राजमार्गमा सञ्चालन गर्न नपाउने व्यवस्था गरेको भएपनि बाँकेमा नियमविपरीत मुख्य राजमार्गमा गुड्दै आएका छन् ।

जिल्लामा हाल दुई हजार बढी विद्युतीय अटोरिक्सा सञ्चालनमा छन् । यी अधिकांशको लाईसेन्स, दर्ता नम्बर, रुटपरमिट, सिट क्षमता, विमा गरिएका छैनन् ।

दर्ताविनाका गैरकानुनी तवरले विद्युतीय अटोरिक्सा जथाभावी राजमार्गमा गुडने, यात्रु, सामान ओसार्ने, अव्यवस्थित पार्किङ्गले सडक दुर्घटना बढाउँदा ट्राफिक र प्रहरीको टाउँको दुखाई बनेको छ ।

सवारी तथा यातायात व्यवस्था नियमावली २०५४, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले अटोरिक्सा मुख्य राजमार्गमा चलाउन नपाउने तर रुटपरमिट ईजाजतपत्र लिएर तोकिएको सडक खण्डमा मात्र चल्न पाउने स्पष्ट व्यवस्था गरेको छ । तर यहाँ प्राय अटोरिक्सा मुख्य राजमार्गमा अव्यवस्थित रुपमा चल्दै आएका छन् ।

जसका कारण सडकमा ठोकिने, पल्टिने, बिग्रिने समस्या देखिएका छन् । जिल्ला यातायात व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी रमेश केसीले अटोरिक्सा व्यवस्थित गर्न यातयात कार्यालयमा निर्देशन दिएको र पटक पटक सरोकारवाला निकायहरु बीच छलफल समेत भएको बताए ।

राजमार्गमा अटोरिक्सा चल्न नपाउने यातायात विभागबाट समेत पत्रचार गरेपनि बाँकेमा भने उल्लघन भएको छ । विमा नहुँदा यात्रु दुर्घटनामा उपचार र क्षतिपुर्ति दिलाउन समस्या छ ।

त्यसमा दर्ता, कागजात नहुँदा दुर्घटनापछि फरार चालक पक्राउ गर्न कठिन छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज होमबहादुर थापाले दैनिक जस्तो नेपालगन्ज, कोहलपुर क्षेत्रका राजमार्गमा अटोरिक्सा दुर्घटना पर्ने गरेको बताए ।

जिल्लामा एक हजार बढी अटोरिक्सा भएको बताएपनि कहाँ, कसरी चलेका छन्, कुनै अभिलेख नभएको उनले बताए । यातायात व्यवस्था कार्यालय नेपालगन्जका प्रमुख विनोद पोखरेलले अटोरिक्सा व्यवस्थित भैइरहेको बताएका छन् ।

‘भर्खरै यातायात कार्यालयमा दर्ता गर्न अनिवार्य बनाएका छौ,’ उनले भने, ‘अहिले लाईसेन्स, गाडी नम्बर र सञ्चाल रुटपरमिट दिन्छौ ।’
अटोरिक्सा व्यवस्थित गराउने र कानुनी दायरामा ल्याउने काम शुरु भएको भन्दै उनले अवदेखि राजमार्ग गुड्न नपाउने र रुटपरमिट लिएर सहायक राजमार्गमा चल्न पाउने बताए ।

अहिले अटोरिक्सा गाविस र नगरपालिकामा दर्ता गरेर जमुनाह–रुपैडिहा, कोहलपुर–नेपालगन्ज, चिसापानी, बाँसगडी, समशेरगन्ज देखि नेपालगन्ज खजुरा, गौघाट, कम्दीस चल्छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ४ गते शुक्रबार