बर्दियामा चिसोबाट जोगिन आगो ताप्दै गर्दा दुई सुत्केरीसहित तीन महिला जलेका छन् । एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । घाईते दुबै सुत्केरीको अवस्था गम्भिर भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
उनीहरुको नेपालगञ्ज स्थित भेरी अन्चल अस्पतालमा उपचार भइरहेको छ । बर्दिया मधुवन नगरपालिका –३ सानोश्रीकी २४ वर्षिया अनिषा खडका आगो ताप्ने क्रममा शुक्रबार जलेकी हुन । उनी १९ दिनकी सुत्केरी छन् ।
आगो ताप्दै सुत्केरी कपडा सुकाउने क्रममा आगो लागेर जलेको उनका पति उमेश ज्ञवालीले बताए । त्यस्तै सुर्खेत बीरेन्द्रनगरपालिका– ३ की २५ वर्षिया सुत्केरी राधिका बुढा पनि जलेर घाईते भएकी छन् ।
उनलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको छ । सुत्केरी कपडा आगोमा सेक्ने क्रममा जलेर घाईते भएको उनका पति कृष्णमानबुढाले बताए । आगो ताप्दै गर्दा जलेर घाईते भएकी बर्दिया बारबर्दिया नगरपालिकाकी ६० वर्षिया सरोजपरी नेपालीको उपचारका क्रममा शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
चिकित्सकहरुका अनुसार उपचारार्थ अस्पताल भर्ना गरिएका दुबै सुत्केरीको २० प्रतिशत बढी शरीरको भाग जलेको छ । शितलहर र कुहिरोका कारण घाम नलागेपछि सुत्केरीको कपडा आगोमा सेकेर सुकाउनु पर्ने बाध्यता छ ।
सुर्खेतकी राधिकाका पति कृष्णमानले पनि सुत्केरी कपडा सुकाउने क्रममा घटना भएको बताए । भेरी अञ्चल अस्पतालका प्रमुख डा. बिरेन्द्रबहादुर चन्दले जलेर घाइते दुबै सुत्केरीको अवस्था जटिल रहेको बताए । उनले थप उपचारका लागि रिफर गर्ने सम्भावना बढेको जनाए ।
जलेर घाइते भएका सुत्केरीहरुको उपचारका लागि अग्नी हिंसा पीडित नेपाल संस्थाले सहयोग गरिरहेको छ । संस्थाका नेपालगञ्ज प्रतिनिधि सुरेन्द्र कार्कीले जलेर घाईते सुत्केरीका लागि आर्थिक सहयोग गरिरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्