काठमाडौं,२४ पुस/ पार्टी एकता प्रक्रियालाई छिटै निष्कर्षमा पुर्याउन एमाले र माओवादी केन्द्रले सोमबार बिहानैदेखि आन्तरिक छलफल गरिरहेका छन् । आइतबार दुवै पार्टीका अध्यक्षबीच कुराकानी भएपछि दुवै पार्टीले सोमबार पार्टी एकताबारे आन्तारिक छलफललाई निरन्तरता दिएका हुन् । पार्टी एकता र सरकार गठनको विषयमा छलफल गर्न एमालेको स्थायी कमिटी बैठक अध्यक्ष ओली निवास बालकोटमा चलिरहेको छ ।

दिउँसो २ बजेदेखि सुरु भएको बैठकमा हिजो दुई अध्यक्षबीच भएको कुराकानीको ब्रिफिङ, पार्टी एकताको मोडालिटीबारे छलफल भइरहेको विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । यस्तै माओवादी केन्द्रले पनि आन्तरिक गृहकार्य गरेको छ ।
अध्यक्ष दाहालले पार्टीका दुई वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासँग छलफल गर्नुभएको छ । एकताका लागि दुवै पार्टीका नेता सम्मेलित दुईवटा कार्यदल बनाइने भएको छ । एकताका लागि संगठन र वैचारिक आधार तयार पार्न छुट्टछुट्टै कार्यदल बनाउनेबारे दुवै पार्टीमा छलफल भएको छ ।
एमाले अध्यक्ष ओली बुधबार नियमित स्वास्थ्य परिक्षणका लागि बैंकक जानुअघि कार्यदल बनाउने तयारी गरिएको छ । कार्यदललाई ओली बैंकक बसुन्जेलको समय दिने र फर्के लगत्तै औपचारिक रुपमा पार्टी एकता घोषणा हुने स्रोतको भनाइ छ । ओली चार दिन बैंककमा रहने गरी कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ । कार्यदललाई अन्तिम रुप दिन मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।









प्रतिक्रिया दिनुहोस्