मनाङ, २४ पुस
देशभर नै चिसो बढिरहेको बेला मनाङको तापक्रम भने माइनस १६ डिग्री पुगेको छ । अत्यधिक न्यून तापक्रमकै कारण रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् भने खोलामा बग्ने पानी पनि जमेको छ ।
अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेकाे प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताएका छन् ।
बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन् । यो समयमा गाउँ घरमा घर कुर्ने चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन् । जाडो छल्नका लागि यहाँका बासिन्दा काठमाडौं, पोखरा, चितवन लगायत भारतको बोधगया जाने गर्दछन् ।
मंसिरको अन्तिम साताबाट मनाङ सुनसान हुने भएकाले अक्सर गरेर माथिल्लो मनाङका विद्यालय हरेक वर्ष जाडोको मौसममा तीन महिना बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताए ।
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार









प्रतिक्रिया दिनुहोस्