बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र



कोहलपुर,२४ पुस/  बाँकेमा रहेका भूमिहिन सुकुम्वासीहरुको समस्यालाई प्रतिनिधित्व गर्ने उनीहरुको संगठन अखिल नेपाल सुकुम्वासी संघ बाँकेले प्रमुख जिल्ला अधिकारी रमेश कुमार अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

संघका बाँके अध्यक्ष अमरसिंह परियार र सचिव लाल बहादुर विश्वकर्माद्वारा हस्ताक्षेरित ज्ञापनपत्रमा उनीहरुले ६ वटा बुँदामा आफ्ना मागहरुलाई उल्लोख गरेका छन् ।
उनीहरुले खजुरा गाउँपालिकामा रहेको खाँडसारी मिल्स प्रालिको नाममा रहेको जग्गामा २०५८ सालदेखि बसिरहेका सुकुम्वासी र कमैँयाहरुलाई सो जग्गामा नै लालपूर्जा वितरण गर्नेपर्ने माग गरेका छन् ।

त्यस्तै डुडुवा गाउँपालिका–५ डलैपुर सङ्गीताल लगायतका ठाउँमा २०३६ सालदेखि वसोबास गर्दै आएका १ सय १२ सुकुम्वासी घर परिवारलाई सिक्टा सिँचाइ आयोजनाले विस्थापित गरेकामा उनीहरुलाई डलैपुरमा नै पुनः स्थापनाको लागि माग गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीनगरमा रहेको सुकुम्वासी वस्तीलाई राजनीतिक दल, केही स्थानीय व्यक्ति र विद्यालय व्यवस्थापन समिति मिलेर आर्दश माविको नाममा गराई बस्तीलाई हटाउने षड्यन्त्र गरिरहेको हुँदा सो बस्तीलाई यथास्थानमा नै राख्न माग गरिएको छ ।

त्यस्तै कोहलपुर नगरपालिका–११ शान्तिनगर सुकुम्वासी बस्तीमाथि कोहलपुर नगर विकास समितिले सुकुम्वासीहरुको व्यवस्थापन नगरी उठाउने षड्यन्त्र गरेकोले त्यस्तो कार्य तत्काल रोकी सुकुम्वासीहरुकोे उचित व्यवस्था गर्न माग गरिएको छ ।

साथै बैजनाथ गाउँपालिका –२ पितमारी, गाभर, बनखेत लगायतका स्थानहरुमा रहेका सुकुम्वासीहरुलाई उचित वसोबास, स्वास्थ्य, शिक्षा, रोजगार आदिको व्यवस्था गर्न माग गरिएको छ । साथै सुकुम्वासी संघले आफ्नो ज्ञापनपत्रलाई व्यवास्था गरेमा चाँडै चरणवद्ध आन्दोलन घोषणा गरिने समेत बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार