शान्तिप्रक्रिया असफल भएको विप्लवको घोषणा, अज्ञात समूह भन्‍नु षड्‍यन्त्र



 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शान्तिप्रक्रिया असफल भएको घोषणा गरेका छन् । विप्लवले चुनाव सम्बन्धि पार्टीको अाधिकारिक धारणा सार्वजनिक गर्न शुक्रबार साँझ एक विज्ञप्ति जारी गरेर सो घोषणा गरेका हुन् ।

विप्लवले अाफ्नो पार्टीले दलाल पुँजीवादी संसदीय व्यवस्था जबरजस्त लाद्न गरिएको प्रतिनिधि र प्रदेश सभाको चुनावको अाफ्नो पार्टीको नेतृत्वमा जनताले सशक्त प्रतिरोध गरेको बताएउँदै पार्टीको चुनाव खारेज अभियान सफल भएको बताएका छन् ।

”प्रतिक्रियावादी, साम्राज्यवादी, संसदवादी र आत्मसमर्पणवादी एवम् विसर्जनवादी तत्वहरुको जनविरोधी लेनदेन र षड्यन्त्रका कारण शान्ति प्रक्रिया असफल भयो । यी तत्वहरुले नेपाली जनता र महान जनयुद्धको मूलमर्म, भावना र चाहना विपरित दलाल पुँजीवादी संसदीय व्यवस्था जबरजस्त लाद्न संसदीय व्यवस्थामा पुँजीवादी संघीयता थपिएको (संसदीय व्यवस्था) को प्रतिनिधि र प्रदेशसभाको चुनाव यही मंसिर १० गते र २१ गते घोषणा गरेको थियो । हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी र नेपाली उत्पीडित–श्रमिक जनताले त्यसलाई सशक्त प्रकारले प्रतिरोध गरेका छन् । हाम्रो पार्टीको निर्देशन, अाह्वान र श्रमिक तथा देशभक्त शक्तिहरुको सहभागिता एवम् सहयोगमा चुनाव खारेज अभियान हस्तक्षेपकारी र प्रभावकारी रुपले सफल भएको छ” विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विप्लवले चुनाव खारेजी अभियान र प्रतिरोधदेखि नेपाली क्रान्ति, विद्रोह, क्रान्ति र परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । उनले नेपाली जनतामाथि जबरजस्त संसदीय व्यवस्था थोपर्न खोज्ने प्रतिक्रियावादी, साम्राज्यवादी र आत्मसमर्पणवादी, विसर्जनवादी तत्वहरुको सपना ध्वस्त भएको बताएका छन‍्‍ । चुनाव  खारेज अभियानमा सहभागी सबै नेता-कार्यकर्ता र सहयोग गर्ने जनतालाई विशेष धन्यवाद विज्ञप्तिमा दिइएको छ । साथै विप्लवले  अभियानलाई गम्भीरतापूर्वक ग्रहण गर्ने र सकारात्मक सहयोग गर्नुहुने बुद्धिजीवी, राजनीतिक विश्लेषक, कानुनविद्, मानवअधिकारवादी, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी, अन्तर्राष्ट्रिय संघ–संस्थाका कुटनीतिज्ञ तथा कानुनविद् सबैमा पार्टी हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

विप्लवले गिरफ्तार नेता-कार्यकर्तालाई रिहा गर्न समेत माग गरेका छन‍् । ”पार्टीको अभियानमा समर्पित भावनाका साथ खट्दा गिरफ्तार पर्नुभएका एवम् पार्टीलाई समर्थन गरेको आरोपमा राज्यद्वारा गिरफ्तार पर्न गई हालसम्म विनाकारण हिरासतमा बन्दी हुनुभएका पीवीएम कमरेड वीरजंग, केन्द्रीय सदस्य कमरेड सुमनसहित सयौं कमरेडहरुप्रति न्यानो र जोशिलो अभिवादन गर्दै धन्यवाद प्रकट गर्दछ । साथै गिरफ्तार कमरेडहरुलाई विनाशर्त यथाशीघ्र रिहाई गर्न राज्यसँग अपिल गर्दछ । अभियानको क्रममा घाइते हुनुभएका कमरेडहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईले नेपाली काँग्रेस, एमाले र भारतसँग गैरजिम्मेदवार गठजोड,  अनैतिक लेनदेन र व्यक्ति केन्द्रीयत सम्झौताविरुद्ध अाफ्नो पार्टीले संघर्ष गर्दै अाएको बाताउँदै अहिलेको चुनाव खारेज अभियान त्यसैको निरन्तरता भएको बताए ।

महासचिव विप्लवले अाफ्नो पार्टीको चुनाव खारेज अभियानलाई अन्तर्राष्ट्रिय समुदायले लोकतन्त्र र जनताको मताधिकामाथि हस्तक्षेप भन्ने प्रतिक्रिया अाएको भन्दै चुनाव खारेज अभिायन संचालन गर्नु सच्चा लोकतन्त्र र मताधिकार भएको पार्टीको धारणा भएको बताएका छन् । ”यतिवेला नेपालमा दुई विश्वदृष्टिकोण, दुई सत्ता र दुई सरकारको अवस्था रहेको छ । आउँदा दिनहरुमा एउटा पुरानो संसदीय सत्तालाई नयाँसत्ताले विस्थापित गर्ने तथा नयाँसत्ता विस्तार र सुदृढ हुने कुरामा कुनै शंका छैन । हाम्रो पार्टीले प्रतिक्रान्तिकारी संसदीय चुनावलाई खारेज गर्ने निर्णय लिएदेखि खारेज अभियान सञ्चालन गर्दासम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय हिस्सामा केही भ्रम र पूर्वाग्रह पनि देखिन खोज्यो । केही अन्तर्राष्ट्रिय समुदायले हाम्रो चुनाव खारेज अभियानलाई लोकतन्त्र र जनताको मतदान अधिकारमाथि हस्तक्षेप भन्ने प्रतिक्रिया व्यक्त गरेका छन् । हाम्रो पार्टीको स्पष्ट धारणा छ कि चुनाव खारेज अभियान सच्चा लोकतन्त्र र मताधिकारका लागि हो” विज्ञप्तिमा भनिएको छ ।

विप्लवले चुनाव खारेज अभियानलाई केही वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका नेताहरुले चुनाव विरोधी तत्व, बम पड्काउने, ध्वंसात्मक तत्व भनेकोप्रति अापत्ति जनाएका छन् । उनले कतिपय सञ्चार माध्यमले बम पड्काएर जिम्मा नलिने अनैतिक कार्य भएकोले राज्यले दमन गर्नुपर्ने भनिरहेका छन् । राज्य र सञ्चारमाध्यमहरुले ‘अज्ञात समूहको बम हमला’ भनेर प्रचार गरेको भन्दै यी सबै घरेलु प्रचारबाजी र टिप्पणीहरु भ्रामक, षड्यन्त्रकारी र ध्वंसात्मक भएको बताए ।

”यी प्रचारका पछाडि जनयुद्धलाई आतंककारी, विध्वंसकारी, फासिवादी दोषारोपण गर्ने प्रवृत्ति र मनसाय निहित छ । जबकि हाम्रो पार्टीले संसदीय चुनावलाई सम्पूर्ण रुप र तरिकाले प्रतिरोध तथा खारेज गर्न अपिल गरिसकेपछि यसैको निर्देशनमा गरिएका प्रतिरोध संघर्षहरु जनुसुकै किन र कसरी अज्ञात, विध्वंसात्मक र अनैतिक भए ? यी त प्रतिक्रान्तिकारी तत्व र दलाल संसदीय व्यवस्था विरुद्ध खुल्लमखुल्लारुपले सञ्चालन गरेका क्रान्तिका श्रृङ्खला हुन् । बरु यहाँ जसले यसलाई जानाजान भ्रमपूर्ण बनाउन खोजेका छन् । यी तत्वले आफ्नो जनघात र राष्ट्रघातलाई छोप्न र वास्तविक जनवादी, राष्ट्रवादी, क्रान्तिकारी शक्तिहरुबारे जनतामा भ्रम छर्न, प्रतिक्रान्तिकारी स्वार्थ पुरा गर्न खोजेका छन्” विज्ञप्तिमा उल्लेख छ”

                                                                                                                                                                                                                                                   अनलाइन डबली

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २२ गते शुक्रबार