नेपालगञ्जर, ११ मंसिर/ मधेशी तथा मुस्लिम समुदायमा स्वास्थ्य सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रममा जोड दिइएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा जानकी गाउँपालिका अन्र्तगत खजुराखुर्द स्वास्थ्य चौकीमा आइतबार गरिएको सामाजिक परिक्षण कार्यक्रमका सहभागिहरुले यस्तो कुरा बताएका हुन् ।
समुदायमा स्वास्थ्य सचेतनाको अभावमा बच्चाहरुलाई खोप नलगाएको, समयमा गर्भवती जाँच नगराएको जस्ता जटिल समस्या रहेकोले भन्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन् ।
उनीहरुले समुदायमा निस्वार्थ भावनाले काम गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकालाई पैसा पाउने आरोप लगाउदै समुदायका नागरिकले आफ्ना बच्चाहरुलाई समयमा खोप नलगाउने, आमा समुहको बैठकमा बोलाउदा उपस्थित नहुने, समयमा गर्भवती जाँच गराउन नआउने जस्ता समस्या उत्पन्न भएको बताएका थिए ।
कार्यक्रममा स्वास्थ्य चौकीका अनमी विन्दु विकले स्वास्थ्य संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरुका बारेमा जानकारी गराएकी थिइन् । सोही क्रममा स्वास्थ्य संस्थाले प्रदान गर्ने प्रसुती सेवा, खोप, स्वास्थ्य शिक्षा, औलो मलेरिया, परिवार नियोजन सेवा, ओपीडी सेवा, जेष्ठ नागरिक सेवा, लगायतका विषयमा चालु आर्थिक वर्षको साउनेदखि कार्तिकसम्मको चौमासिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन् ।
प्रस्तुत सेवा तथा प्रगतिका विषयमा छलफल गर्दा समुदायमा खोप कार्यक्रम, आमा समुह बैठकको व्यवस्थापन, प्रसुती सेवा केन्द्रको स्थापना, विरामी सेवाग्राहीका लागि प्रतिक्षालय निर्माण गर्ने, मधेशी मुस्लिम समुदायलाई लक्षित गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र गाउँघर किल्निक भवन निमार्णका लागि जग्गा खोजी गर्ने जस्ता ६ बुँदे कार्ययोजना तयार गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष विश्रामकुमार वर्माले २० वर्षदेखि जनप्रतिनिधि विहिन स्थानीय तहमा निर्वाचित भएपछि स्वास्थ्य लगायतका थुप्रै समस्या रहेकाले काम गर्न जटिल भएको भन्दै पाँच वर्षभित्र योजना तयार गरि प्रभाकारी कार्य गर्ने प्रतिवद्धता गरे । उनले समुदायमा स्वास्थ्य चेतनाका लागि हामी जनप्रतिनिधिहरुले स्वयम् लाग्नुपर्नेमा जोड दिदै स्थानीय तहद्वारा प्रदान हुने सेवाको गुणस्तरियता तथा प्रभावकारिता अभिवृद्धि गर्ने बताए ।
जानकी गाउँपालिकाका स्वास्थ्य प्रमुख गिर बहादुर गुरुङ्गले स्वास्थ्य संस्थाहरुमा सामाजिक परिक्षणको कार्यले सुशासनमा मद्दत पुगेको बताउदै समुदायका नागरिक तथा सेवा प्रदायक निकायका कर्मचारीहरुको व्यवहार परिवर्तन गरि नमूना समुदाय बनाउनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : २०७४ मंसिर ११ गते सोमबार








प्रतिक्रिया दिनुहोस्