कोहलपुरमा विकास पत्रकारिता तालिम शुरु



कोहलपुर, २९ कात्तिक/  कोहलपुर क्षेत्रका क्रियाशील पत्रकारको क्षमताका अभिवृद्धिका लागि ३ दिने विकास पत्रकारिता तालिम मंगलबार देखि कोहलपरुमा शुरु भएको छ । तालिमको उद्घाटन गर्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले संचारकर्मीले सत्यतथ्य कुरा लेख्नुपर्ने र सदैव खबरदारी गर्नुपर्ने भन्दै राज्यका निकायहरुका आँखा नपुगेको ठाउँको बारेमा समेत समाचारद्वारा सबैलाई सचेत गराउन आग्रह गरे ।

त्यस्तै नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीले पत्रकारले राम्रा नराम्रा सबै पक्षका कुराहरु लेख्नुपर्ने र दुरदराजको विषयहरुलाई पनि समाचार बनाई सत्य समाचार सम्प्रेष्ण गर्नुपर्ने बताईन् । त्यस्तै कोहलपुर नगरविकास समिति अध्यक्ष अवराज खड्काले कुनै पनि कार्यालयमा कर्मचारीहरुको सम्बन्ध विग्रिदा सबै व्यवस्थापन विग्रिने र कार्यालय अस्तव्यस्त हुने भएको हुँदा त्यस्ता कुराहरुमा पत्रकारहरुले ध्यान दिनुपर्ने बताए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन आयोगका सदस्य एवं कोहलपुर क्षेत्रका अग्रज पत्रकार भिम रावतले संचारकर्मी एउटा सचेत नागरिक भएकाले स्थानीय सरकारलाई घच्घच्याउने र खबरदारी गर्नु पर्ने भन्र्दै स्थानीय सरकारले पनि सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गराउन आफ्नो कार्यक्रममा योजना बनाउँदा ध्यान दिनु पर्ने बताए ।
क्रियाशील पत्रकार समुह कोहलपुरका अध्यक्ष निर्मल आर्चायले संञ्चार गृह भन्दा श्रमजिवी पत्रकारहरुको क्षमता विकासमा सहयोग गर्नुपर्ने बताए । त्यस्तै कोहलपुर नगरकार्यपालिका सामाजिक विकास समितिका सभापति तथा कोहलपुर नपा –ं १० का वडा अध्यक्ष निरज चलाउनेले पत्रकारहरुले तालिममा सिकेका सिपहरुबाट अझ दक्ष बन्ने विश्वास व्यक्त गरे ।

कोहलपुर नगरपालिकाको आयोजना तथा क्रियाशिल पत्रकार समुह कोहलपुरको सहकार्य तथा समन्वयमा संञ्चालन गरिएको उक्त तालिममा वरिष्ठ पत्रकार तिर्थ कोईरालाले सहजिकरण गरिरहेका छन । तालिमको उद्घाटन सत्रमा प्रेस चौतारी नेपालका उपाध्यक्ष सुरेन्द्र काफ्ले गैरसरकारी संस्थाका महासंघ प्रदेश न. ५ का सचिव धर्म रोकाय लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कोहलपुर नगरपालिका आयोजनामा शुरु भएको तालिममा कोहलपुर क्षेत्रका २० जना क्रियाशील पत्रकारहरुको सहभागिता रहेको छ । तालिम तीन दिन सम्म चल्ने कोहलपुर नगरकार्यपालिका सदस्य डिल बहादुर परियारले जानकारी गराएका छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २९ गते बुधबार