मिसन सामाचारदाता कोहलपुर, २५ कार्तिक,, नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता कोहलपुर नपा–१३ खडकवारमा स्थित जैविक पार्कमा रहेको वनस्पति उद्यानको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । पार्कको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, बाँके राष्ट्रिय निकञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारी र जिल्ला वनस्पति कार्यालय बाँकेका वैज्ञानिक अधिकृत अर्जुन न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सो क्रममा तीनै जना अतिथिले वृक्षारोपन समेत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख रावतले कोहलपुर नगरपालिका भित्रका तीन वटा पार्कलाई विशेष महत्वका साथ हेरिएको र तिनको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताए ।
जिल्ला वनस्पति कार्यालय बाँकेका वैज्ञानिक अधिकृत अर्जुन न्यौपानेले वनस्पति कार्यालयको एक नगर, एक उद्यान कार्यक्रमअन्तर्गत सो पार्क निर्माणमा सहयोग गरेको
बताए । जिल्ला वनस्पति कार्यालय बाँकेको रु ४ लाख ७० हजारको अनुदान सहयोग तथा नमूना मध्यवर्ती सा.व.उ.को रु १ लाख ६० हजार गरी जम्मा रु ५ लाख ६७ हजारको लागतमा उद्यान निर्माण गरिएको समूहका सचिव भद्रजङ्ग वलीले जानकारी दिए । कोहलपुर नपा–१३ का वडाध्यक्ष ओम प्रकाश वलीले त्यस क्षेत्रमा रहेका नदीजन्य पदार्थलाई कोहलपुर तथा अन्य क्षेत्रमा विक्रि वितरण गर्न पाउनु पर्ने भन्दै निकुञ्ज लगायत सम्वन्धित निकायले व्यवस्था मिलाउनु पर्ने बताए ।
यस्तै उद्यान निर्माण समितिका सचिव भिमबहादुर डाँगीले विभिन्न प्रकारका वनस्पतिको संरक्षण र विकासका लागि उद्यान निर्माण गरिएको जानकारी दिए । उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटा, ७ का अध्यक्ष दिपकजङ्ग शाह, हरित पिकनिक पार्कका अध्यक्ष लालबहादुर राना, कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिकी अध्यक्ष सावित्रा पुन, बाँके राष्ट्रिय निकुञ्ज खड्कवार पोष्टका रेन्जर अक्षय कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०७४ कात्तिक २५ गते शनिबार
प्रतिक्रिया दिनुहोस्