15 July 2024  |   सोमवार, असार ३२, २०८१

तुलसीपुर उपमहानगरका घरलाई खरमूक्त छानो बनाइने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४  

दाङ, २१ कात्तिक/  तुलसीपुर उपमहानगरले उपमहानगर भित्रका घरहरुमा खरको छानो हटाएर टिनको छानो लगाउने भएको छ । कार्यपालिकाको बैठकले सुरक्षित आवास खरको छानो व्यवस्थापन कार्यविधि पारित गर्दै उपमहानगर खरको छानो रहेका घरहरुलाई व्यवस्थापन गरेर टिनको छानो लगाउनका लागि अनुदान दिने निर्णय गरेको प्रवक्ता श्याम डाँगीले बताए ।

विपन्न वर्गका लागि लक्षित गरिएको यो कार्यक्रमले सुरक्षित आवासका लागि महत्वपुर्ण भुमिका खेल्ने नगर प्रमुख घनश्याम पाण्डेले बताए । कार्यविधि पारित भएसँगै वडाबाट खरको छानोको लगत लिने काम शुरु हुने बताइएको छ । नियमित रुपमा खरको छानोमा बस्दै आएका परिवारलाई यो अनुदान दिइने पनि कार्यविधिमा उल्लेख छ ।

त्यस्तै उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो पोशाक वितरण समेत गर्ने भएको छ । ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई २५ सय बराबरको एक ÷एक जोडा न्यानो कपडा पनि वितरण गरिने प्रवक्ता डाँगीले बताए । दलित र अशक्तको हकमा ८० वर्ष पुरा भएकाले पनि यो सम्मान पाउने कार्यविधिमा उल्लेख गरिएको डाँगीले बताए । यस अघि पनि उपमहानगरले सुत्केरी भत्ता वितरण गरेर लोकप्रियता हासिल गरिसकेको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४     7:43:45 AM  |