कोहलपुर, १४ मंसिर/ वाम गठबन्धनले बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ मा घरदैलोसँगै कोणसभालाई जारी राखेको छ । बिहिवार प्रदेश सभा १ को बनकटवाको बनकटवा र सम्झनाचौकमा चुनावी सभा भएका छन् । प्रदेशसभा २ को बेलभार र इन्द्रपुरमा उम्मेदवारसहित घरदैलो अभियान सम्पन्न भएको हो ।
यसैगरी क्षेत्र नम्बर ३ मा रहेका २४ वटै वडामा स्थानीय नेता कार्यकर्ताहरुको सक्रियतामा चुनावी मतदाता भेटघाट घरदैलो अभियान जारी रहेको एमाले युवा नेता सतिश निरौलाले बताए । बनकटवाको सम्झना चौकमा भएको सभालाई सम्वोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार नन्दलाल रोकायले विकास र सम्वृद्धिको सुनिश्चितताका लागि वाम गठबन्धनलाई जिताउन अपिल गरे ।
उनले भने–‘क्षेत्र नम्बर ३ मा विकासका लागि केन्द्र र प्रदेशमा वामपन्थीहरुको बहुमतको सरकारका लागि सहयोग गर्नुस ।’ प्रदेशसभाका उम्मेदवार आईपी खरेलले थारु लगायत पछाडि परेका समुदायको विकास वामपन्थी बाहेक अरु कुनैपनि शक्तिले गर्न नसक्ने बताए । उनले भने– ‘विकास, सम्वृद्धि, प्रगति र मुक्तिका लागि वाम गठबन्धन बनेको हो ।’
कार्यक्रममा प्रमुख अतिथि रहेका निर्वाचन परिचालन कमिटिका संयोजक दलबहादुर सुनारले वाम गठबन्धनलाई विकासका लागि मत दिन आग्रह गरे । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले स्थानीय तहमा गरेका प्रतिवद्धता पुरा गर्ने बताए । बनकटवामा भएको सभालाई सम्बोधन गर्दै निर्वाचन परिचालन कमिटिका सचिव रत्न खत्रीले विकास र स्थायीत्वका लागि भोट दिन आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्