काठमाडौं, १२ कात्तिक/ राजनीतिक दलहरुले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूचीमा आज अन्तिम संशोधन गर्दैछन् ।
निर्वाचन आयोगले समानुपातिक संशोधन गर्न आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिएको छ । दलहरुले गत असोज २९ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए । त्यसमा कसैको नाम संशोधन गर्ने भए आयोगले आजसम्मको समय दिएको हो ।
उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार निवेदन दिन सक्ने आयोगले जनाएको छ । बन्दसूची संशोधन गरी उम्मेदवार थपघट गर्न दलहरु आज बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त भएका छन् । समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक सूची भने १७ गते सार्वजनिक हुनेछ ।
त्यसमा दावी विरोध, उजुरीमा जाँचबुझलगायतको चरण पूरा गरेर मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्