23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

थाइ राजाको अन्त्येष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४  

थाइल्याण्डको राजधानी ब्यांककमा गत वर्ष निधन भएका थाइ नरेश पूमिपोन अदून्यदेतको विशाल शवयात्रा भएको छ।

कालो रंगको लुगा लगाएका हजारौँ मानिसहरुले अन्त्येष्टि समारोहमा भाग लिइरहेका छन्।

सात दशकसम्म गद्दीमा रहेका राजा पूमिपोनको गत वर्ष अक्टोबरमा निधन भएको थियो।

झकिझकाउ सुनौलो रंगको भव्य रथमा राखिएको अस्तुकलश ब्यांककका सडकहरु हुँदै विशेष रुपमा तयार पारिएको शाही दाहसंस्कारस्थलतर्फ लगिएको थियो।

अठासी वर्षको उमेरमा गत अक्टोबरमा उनको मृत्यु भएको थियो।

सम्मान

हजारौं थाइ नागरिकहरु ब्यांककका सडकहरुको दुबैपट्टि दिवंगत नरेशको सम्मानका लागि लामबद्ध भएका छन्।

पाँच दिने दाहसंस्कार समारोहको मुख्य हिस्साका रुपमा सांकेतिक अस्तुकलशलाई ढोल, बाँसुरीको धुन र तोप सलामी सहित दाहसंस्कारस्थलतर्फ लगिएको थियो।

धेरै भवनहरु पहेंला सयपत्री फूलहरुले सजाइएका छन् भने मानिसहरुले सम्मान प्रकट गर्न कालो रंगको लुगा लगाएका छन्।

निकै श्रद्भा गरिने थाइ नरेश पूमिपोनको दाहसंस्कार बुधबार एक बौद्ध परम्परासहित शाही दरबार ग्रान्ड प्यालेसमा शुरु गरिएको हो।

बिहीबारको शवयात्रा अघि शाही दरबारमा श्रृंखलाबद्ध धार्मिक संस्कारहरु भएका थिए।

दिंवगत राजाको शवमा उनका छोरा, वर्तमान राजा महावज्रलोङकर्न, ले दागबत्ती दिँदै छन्।

शवयात्राको दोस्रो खण्डमा अस्तुकलश बोक्न प्रयोग गरिएको रथ १८ औँ शताब्दीदेखि प्रयोग हुँदै आएको छ।

१४ टन भन्दा अलि कम तौल रहेको उक्त रथलाई २०० भन्दा बढी सैनिकहरुले तानेका थिए।

परिक्रमा

दाहसंस्कार स्थलमा उनको अस्तुकलशलाई कैयौँ पटकसम्म परिक्रमा गराइएको थियो।

कैयौं थाइ जनता स्वर्गीय राजा पूमिपोनलाई आधुनिक थाइल्याण्डका निर्माता पनि ठान्दछन्।

उनकै शासनकालमा कृषिमा आधारित थाइ अर्थतन्त्र औद्योगिकीकरणतर्फ अघि बढेको थियो।

तर आलोचकहरुले चाहिं स्वर्गीय राजाले प्रजातन्त्रलाई संस्थागत हुन नदिएको र जननिर्वाचित प्रधानमन्त्रीहरुभन्दा सेनालाई बढी प्राथमिकता दिने गरेको बताउँछन्।  bbc nepali news

प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४     6:11:30 PM  |