23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

थोरैले खर्च गर्छन देउसी भैलोको रकम सामाजिक कार्यमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४  

                                                             देउसीभैलो खेलेर मन्दिर निमार्ण । तस्विरः कविन्द्र

कविन्द्र परियार, कोहलपुर, ०९ कार्तिक/ बाँकेको राप्तीसोनारी–९  खैरेनीका जनशक्ति युवा क्लबका युवाहरुले दुई वर्षअघि देउसी  भैलो खेले । भैलोबाट संकलित रकम के गर्ने भन्ने छलफल भयो । त्यो क्षेत्रमा पुजा गर्ने मन्दिर नभएका  कारण मन्दिर निर्माण गर्ने सल्लाह  भयो तर मन्दिर निमार्णका लागि आवश्यक खर्च नपुग्ने भएपछि उनीहरुले उक्त रकम सुरक्षित राखे । फेरि अर्को वर्ष देउसीभैलो
खेलेर मन्दिर निमार्ण गर्न सफल भए । यसवर्ष पनि देउसी भैलोबाट संकलित रकमको कम्तिमा ५० प्रतिशत मन्दिर व्यवस्थापनमा खर्च गरिने संस्थाका अध्यक्ष डिल बहादुर वलीले बताए ।
त्यस्तै कोहलपुर नगरपालिका १४ हवलदारपुरमा रहेको समाज सेवा संस्था नेपालले पनि देउसी भैलोबाट संकलित रकम मानव अधिकारका क्षेत्रमा खर्च गरिने बताएको छ । सस्थाको मंगलबार बसेको बैठकले सो निर्णय गरेको संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए । ‘केही रकम सस्थागत विकास र बाँकी रकम मानव अधिकारका विषयमा जनचेतनामूलक कार्यमा खर्च गर्ने योजना बनाएका छौ’ अध्यक्ष थापाले भने ।
त्यस्तै बैजनाथ बाल क्लब संजाल र टिटिहिरिया बाल क्लब संजालले पनि देउसी भैलोबाट संकलित रकम अपाङ्ग तथा असाहय बालबालिकाको शैक्षिक क्षेत्रमा खर्च गर्ने बाल क्लब
संजालका अध्यक्ष खगेन्द्र बुढाले जानकारी दिए । ‘देउसी भैलोबाट संकलित रकम अनावश्यक खर्च गर्नु भन्दा सामाजिक सेवामा खर्च गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो’ बुढाले भने ।
कलाकारिता क्षेत्रमा काम गर्दै आएको बागिना कला केन्द्र कोहलपुरले पनि देउसी भैलोबाट संकलित रकम सामाजिक कार्यमा खर्चिने योजना बनाएको केन्द्रका अध्यक्ष गणेश विष्टले जानकारी दिए । ‘कार्यालय व्यवस्थापनमा खर्च गरेर बाँकी सामाजिक कार्यमा खर्चिने योजना बनाएका छौ’ विष्टले भने । तिहारमा खेलिने देउसी भैलोबाट संकलित रकम धेरैले वनभोज र भ्रमणमा सकाउने गरेपनि केही संस्था र क्लबले भने सामाजिक कार्यमा खर्च गर्ने गरेका छन् ।
क्षणिकको मनोरञ्जनका लागि पिकनिक र भ्रमण गरेर खर्च गर्नु भन्दा सामाजिक कार्यमा खर्च गर्दा दिगो विकास र सामाजिक सेवा दुवै हुने हुँदा उनीहरुले सामाजिक कार्यमा
खर्च गरेको बताएका छन् । सुशासनको क्षेत्रमा काम गर्दै आइरहेको संस्था बागेश्वरी असल शासन क्लब (बास) का निर्देशक नमस्कार शाहले देउसी भैलोबाट संकलित रकमको बीस देखी पच्चीस प्रतिशत मात्र सामाजिक सेवामा लगानी गरेपनि धैरे कामहरु गर्न सकिने बताए । अनाश्यक मदिरामा खर्च गर्नु भन्दा सामाजिक सेवामा खर्च गर्नु उचित हुने शाहको भनाइ छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४     1:28:36 PM  |