23 September 2023  |   शनिबार, अशोज ६, २०८०

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर नेपाली काँग्रेस चुनावमा !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

नयाँ सम्बिधान जारी भएपछि पहिलोपटक बिभिन्न खाले निर्वाचनहरु भैरहेका छन् । संबिधान कार्यान्वयनको मूल कडिको रुपमा लिइएको यी निर्वाचनको अन्तिम र महत्वपूर्ण बिन्दु भनेको मंसिरमा हुने भनिएको केन्द्र र प्रदेशको चुनाव हो । मंसिरमा हुने निर्वाचनको नतिजाले नेपालको भविष्यको गन्तव्यका साथै केही रेखा र अवधारण पनि तय हुनेछ ।

यतिखेर देशमा यही चुनावका सिलसिलामा बिभिन्न आयामहरु चलिरहेको छ । पार्टीहरु आआफ्ना हिसाबले गणितीय जोडघटाउमा व्यस्त छन् । उम्मेदवार बन्ने आकांक्षीहरुको भीड उर्लिरहेको छ । यी भीडबाट जित्ने उम्मेदवार तय गर्न सबै पार्टीलाई हम्मेहम्मे परिरहेको छ ।

यही क्रममा निर्वाचनको प्रशंगसँगै वाम एकताको कुराले नेपालमा कम्युनिस्ट पार्टी स्थापनको ७० वर्ष पुगेको अवस्थामा रुप लिएको छ । एमाले र माओवादी केन्द्रले चुनावी समिकरण गरेर भाग लिने निर्णय गरिसकेका छन् भने यो अभियानमा अरु वामपन्थी पार्टीहरु एकिकृत हुने क्रम जारी छ । धेरै दल हुनुको लामो पिडामा रहेको नेपाललाई संभवतः यो प्रयास सुखद हुनेछ । यद्यपि चुनावमुखी र हतारमा गरिएका यस्ता समिकरण जुट्न बेर न फुट्न बेर हुन पनि सक्छ ।

वाम एकतासँगै नेपाली कांग्रेसले प्रजातान्त्रिक शक्तिहरुको एकतालाई प्राथमिकता दिएको छ । यी दुई एकतामा भिन्नता के छ भने वाम गठजोड चुनावी समिकरणसँगै एक पार्टी बन्नेतिर हिँडेको छ तर प्रजातान्त्रिक भनिएको गठजोड चाहिँ चुनावी समिकरणमा नै सिमित छ ।

यी गठजोडसँगै बिभिन्न कोणबाट विचारहरु प्रवाह हुन थालेका छन् । धेरैले वाम गठजोडले एक पार्टी हुनका लागि राम्रो अभ्यास भए पनि निकट चुनावका लागि सही साबित नहुने बताइरहेका छन् भने काँग्रेसले गर्न खाजेको समिकरण काँग्रेसका लागि घातक हुने बताउन थालेका छन् ।

यो गठजोड तथा गठबन्धनले के हुन्छ त्यो भोलिको कुरा तर आज के गर्ने बारे एमाले र माओवादीमा प्रष्ट धारणा देखिन्छ । उनीहरु केपि ओलीलाई प्रधानमन्त्री भनेर चुनावमा जान मानसिकरुपमा तयार छन् । वाम गठबन्धनले प्रचन्डलाई राष्ट्रपति बनाउने सम्भावना पनि देखाएको छ । उनीहरुले ६०-४० को आधारमा चुनावमा जाने रणनीति पनि सार्वजनिक गरिसकेका छन् ।

तर काँग्रेस वा काँग्रेस गठबन्धनमा भने अझै चुनावी युद्धका लागि कुनै योजना देखिदैन । इतिहासमै कमजोर प्रधानमन्त्रीका रुपमा देखिएका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सभापति रहेको नेपाली काँग्रेसले कसलाई प्रम भनेर चुनावमा जाला भन्न सकिदैन वा देउवाले फेरी प्रमको रहर गर्छन् भन्ने सबैको ठहर छ । यदि बिभिन्न कारणबस देउवा प्रम नहुने भैहाले भने पनि रामचन्द्र पौडेल प्रम पदका लागि दावेदार हुनेछन् । एवम् रीतले ४ देखि ५ जना नेकाभित्रका वृद्ध कोटीमा पर्ने तर चुनाव जिताउने हैसियत देखाउन नसक्ने व्यक्ति नै प्रमका दावेदार हुनुको पिडामा नेपाली काँग्रेसले चुनावमा अगतिलो प्रदर्शन गर्ने सम्भावना धेरैले अनुभव गरिरहेका छन् ।

त्यसो त नेपाली काँग्रेसमा देखाउने व्यक्ति वा केपि ओली प्रचन्डसँग पौठेजोरी खेल्न सक्ने वा उनीहरुलाई सहजै सबैखाले युद्धमा पछार्न सक्ने व्यक्तिको अभावचाहिँ छैन । प्रजातान्त्रिक भनिए पनि सामान्ति स्वभावको नेपाली काँग्रेसमा युवा भनिने तर ४० काटेका पुस्तामा हनोहार र देश बदल्ने क्षमता दक्षता राख्ने नेताहरु उपलब्ध छन् । तर यी सबै नेताहरुलाई माथि पुर्याउन वा लैजान वृद्धवयका नेताहरु कहिल्यै तयार नहुनुको समस्या नेपाली काँग्रेसभित्र गाँजिएर बसेको छ ।

यतिखेर नेपाली राजनीतिमा सबैभन्दा विश्वस्नीय पात्र मध्ये अब्बल कोटीमा गगन थापा पर्दछन् । केपि ओली र गगन थापा रोज्नु पर्ने अबस्थामा गगन थापाको पक्षमा धेरै मानिसले भोट गर्ने अवस्था भए पनि शेरबहादुर देउवाले एकछत्र राज गरिरहेको नेपाली काँग्रेस यस्ता पात्रलाई अगाडि बढाउनभन्दा पछाडि धकेल्न उद्धत रहनु नेपाली राजनीतिकै दुर्दशा हो । नेका सभापति देउवालाई आफ्नो चुनावी क्षेत्रमा जित्नका लागि समेत गगन थापा उपयोग गर्न पर्ने वातावरण छ ।

देशभर चुनावी माहौल होस् वा अन्य कुनै पनि खाले कार्यक्रम गगन थापालगायतका केही अत्यन्त प्रतिभाशाली युवा नेताहरु हरहमेशा खटिएका हुन्छन् । नेपाली काँग्रेसभित्र गगन थापाजस्ता केही प्रतिभा हुनुबाहेक सम्भवतः अब कुनै सम्पत्ति बाँकी पनि छैन । यस्तो अबस्थालाइ मध्ये नजर राखेर हनोहार प्रतिभालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर नेपाली काँग्रेस चुनावी मैदानमा उत्रिने निर्णय किन गर्दैन भनेर बारबार प्रश्न उठ्ने गरेको छ ।

प्रचन्ड प्रधानमन्त्री हुँदा स्वास्थमन्त्री बनेर नेपाली स्वास्थ क्षेत्रमा एउटा बाटो प्रदान गरेर आफ्नो विकासवादी छवि देखाएका गगन थापालाइ नेपाली काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाओस् भन्ने धारण धेरैले देखाएका छन् । जित्न र जिताउन सक्ने मान्छेलाई प्रम बनाएर चुनावी मैदानमा होमियो भने प्रजातान्त्रिक गठबन्धन पनि दरिलो र अन्य पार्टीले विश्वास गर्ने आधार तय गर्नेछ ।

विश्वभरीको र छिमेकी भारतकै अभ्यासलाई हेर्ने हो भने पनि संभावना भएका मानिसलाइ चुनावी माहौलका लागि तयार गर्नु महत्वपूर्ण देखिन्छ । सन् २०१४ मा भारतीय जनता पार्टीले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको रुपमा उम्मेदवार बनाउँदा मोदीभन्दा माथिल्लोस्तरमा ५० औँ नेताहरु थिए । लालकृष्ण आडवाणीसहित ४ जना भाजपाका अध्यक्षहरु प्रत्यक्ष रुपमा सक्रिय राजनीतिमा थिए ।

तर भाजपाले चुनावी वातारणका लागि गुजरातका मुख्यमन्त्री रहेका भाजपाका केन्द्रिय सदस्य नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको रुपमा उभ्यायो र अपार सफलता हासिल गर्यो । अहिले नरेन्द्र मोदीलाई जवाहारलाल नेहरु र इन्दिरा गान्धीभन्दा उम्दा प्रमको रुपमा हेरिन्छ । मोदीको मन्त्रिमण्डलमा भाजपाको ३ जना पूर्व अध्यक्षहरु मन्त्रीको रुपमा बसेर सहयोग गरेकै कारण पनि मोदी अहिले विश्वविख्यात नेता बन्न सफल भए ।

यस्ता उदाहरण भारतमा मात्र हैन अमेरिकामा बाराक ओवामासम्मलाई दृष्टान्त हुनेगरी छ्यासछ्यास्ती पाइन्छन् । नेपालमा पनि नयाँ सम्बिधानपछिको परिस्कृत काँग्रेस र देश विकासको पथमा काँग्रेस देखाउनको लागि नेपाली काँग्रेसले गगन थापालाइ प्रधानमन्त्रीको रुपमा उभ्याउन सके सम्भवतः नेपाली लोकतन्त्रको समुन्नत स्वरुप जनताले देख्न पाउने थिए ।  nepalinews

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     6:28:17 PM  |