23 June 2021  |   बुधबार, असार ९, २०७८

मोहन विक्रमले प्रचण्डलाई भेटेर भने, ‘देश बर्बाद हुनबाट जोगाउनुभयो, धन्यवाद’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

काठमाडौं, असोज २० / नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र एमाओवादी अध्यक्ष प्रचण्डबीचको राजनीतिक सम्बन्ध निकै उतारचढावपूर्ण र रोचक छ ।

Prachanda mohan bikram

मोहनविक्रम प्रचण्डका राजनीतिक गुरु हुन् । गुरुका नाताले भेटघाट हुँदा प्रचण्ड सिंहका अगाडि केही नतमस्तक जस्ता देखिन्छन् । तर राजनीतिक रुपमा सिंहका कटु आलोचक । कतिपय मानिसहरुका बुझाइमा राजनीतिमा मोहनविक्रमको ओरालो र प्रचण्डको उकालो यात्रा सँगसँगै सुरु भएको हो ।

किनकी तत्कालिन मसाल र मोहनविक्रमले लिएको राजनीतिक लाइनको ठीक विपरीत धु्रवमा प्रचण्ड र मोहन वैद्यले सुरु गरेको अभियान माओवादी आन्दोलनका रुपमा अगाडि आयो । प्रचण्ड र वैद्यले सिंहलाई बामपन्थको खोल ओढेको दक्षिणपन्थ, बापन्थी लफ्फाजी र क्रान्तिका कुरा गरेर कहिल्यै नथाक्ने, तर क्रान्तिका नाममा सिन्को नभाँच्ने पात्र र प्रवृत्तिका रुपमा चित्रण गरे ।

सिंह पनि माओवादी आन्दोलनको विपक्षमा खुलेरै लागे । नेपाली काँग्रेसले २०१५ सालमा संविधानसभाको नारा परित्याग गरेर संसदीय निर्वाचनमा भाग लिनुलाई उतिबेलै ‘संविधानसभाद्वारा संविधान बनाउने नेपाली जनताको चाहनामाथि धोका’ भने सिंहले ।

आजीवन संविधानसभाको नारा दिए । संविधानसभाको निर्वाचन माग गर्दै २०४८ सालको निर्वाचन बहिस्कार गरे । ०५७ सालसम्म पनि संविधानसभाद्वारा संविधान बनाउने एजेण्डाको पक्षमा वकालत गरिरहे । त्यतिबेला प्रचण्डको बुझाइमा संविधानसभा ‘सुधारवादी र बुर्जुवा’ नारा थियो ।

जब माओवादीले ०५७ को दोश्रो राष्ट्रिय सम्मेलनबाट गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभा निर्वाचनको नारा अगाडि ल्यायो त्यसपछि सिंह एकाएक संविधानसभाको विरोधमा प्रकट भए । माओवादीले तत्कालिक कार्यनीति बनाएपछि संविधानसभालाई ‘राजावादी’ हरुको एजेण्डासम्म भन्न भ्याए । सधैं एकअर्काको राजनीतिक लाइनविरुद्ध उभिनैपर्ने जस्तो नियती प्रचण्ड र सिंहको छ र थियो ।

सिंहले भेटे प्रचण्ड
संयोग नै मान्नुपर्छ संविधानसभाले संविधान जारी गरेको लामो समयपछि गत साता प्रचण्ड र सिंहको भेटवार्ता भयो । सिंहकै प्रस्तावमा माइतीघरस्थित एक शुभचिन्तकको घरमा करिब ढेढ घण्टा दुई नेताबीच मुलुकको राजनीतिक अवस्थाबारे कुराकानी भयो ।

सभासद् समेत रहेकी पत्नि दुर्गा पौडेलका साथ प्रचण्ड भेट्न पुगेका सिंहले भारतीय दबाबका अगाडि नझुकी राष्ट्रिय हितमा संविधान जारी गर्न सकारात्मक र अग्रणी भूमिका खेलेकाले प्रचण्डलाई बधाई दिएको बताए । मुलुकलाई बर्बाद हुनबाट जोगाएकाले प्रचण्ड बधाईको पात्र भएको उनको भनाइ थियो ।

संविधानसभाको तेश्रो दलको हैसियतमा रहेर पनि प्रचण्डले संविधान निर्माणमा पहिलो पार्टीको भूमिका खेलेको दाबी सिंहले गरे ।

‘१६ बुँदे सहमति भएदेखि संविधान जारी गर्ने अन्तिम क्षणसम्म भारतले चर्को दबाब दिएको थियो’, सिंहले काठमाण्डु टुडेसँग भने, ‘प्रचण्ड दबाबका अगाडि झुकेनन् र राष्ट्रियताविरुद्ध सम्झौता नगरी संविधान बनाउन सफल भएकामा बधाई दिएँ ।’

सँगै आफूले संविधान संशोधनमार्फत आफ्नो इच्छाअनुसारको प्रावधान थप गर्न भारतीय पक्षले दिइरहेको दबाबसँग नझुक्न पनि प्रचण्डलाई आग्रह गरे ।

‘फेरि संविधान संशोधनमार्फत भारतले आफ्नो ‘इन्ट्रेस्ट’ पुरा गर्न खोजेको छ’, सिंहले प्रचण्डसँग भने, ‘राष्ट्रियतामा प्रतिकुल असर पर्ने गरी अहिलेको दबाबका अगाडि पनि नझुक्नुस् ।’

सिंहले राष्ट्रियता र मुलुकको हितमा प्रचण्डले लिएको निर्णयको सराहना गर्दै आफ्नो त्यसमा सक्लदो सहयोग रहने प्रतिबद्धतासमेत जनाएको जानकारी दिए ।

यस्तो थियो प्रचण्डको जवाफ
सुरुमा त प्रचण्ड सिंहले भेट्न चाहेकामा ‘सरप्राइज’ मा परेका थिए । आफ्ना राजनीतिक गुरु खोज्दै आफूलाई भेट्न आएकामा प्रचण्डले खुसी व्यक्त गरे ।

सिंहसँगको भेट र कुराकानीले थप उर्जा मिलेको बताए । प्रचण्डले सिंहलाई जतिसुकै दबाब आए पनि राष्ट्रियताविरुद्ध सम्झौता नगर्ने विश्वास दिलाए ।

‘म तपाईंलाई विश्वास दिलाउन चाहन्छु जतिसुकै ठूलो दबाब आए पनि राष्ट्रियता र राष्ट्र तथा जनहितविपरीत हुने गरी कसैसँग सम्झौता हुँदैन ।’  by kathmandutoday

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     9:18:39 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *