कोहलपुर, ४ असार / बाँके जिल्लामा रहेका बहिरा तथा सुस्त श्रवण भएका व्यक्तिहरुले नमूना मतदान गरेका छन् । बाँके बहिरा संघ र निर्वाचन कार्यालयको आयोजना तथा रेरी बाँकेको संयोजनमा बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानीमा नमुना मतदान कार्यक्रम गरिएको हो ।
आसन्न निर्वाचनमा सहजता होस् भन्ने उद्देश्यले २२ जना बहिरा तथा सुस्त श्रवण भएका ब्यक्तिहरुले नमूना मतदान गरेका छन् । निर्वाचन गर्ने प्रक्रियाका बारेमा निर्वाचन कार्यालयका काशीलाल अधिकारी, राष्ट्रिय बहिरा महासंघका केन्द्रिय सदस्य सन्तोष के.सीले सहजीकरण गरेका थिए ।
बाँके बहिरा संघका उपाध्याक्ष प्रसान्त कठायतको अध्यक्षतामा भएको नमूना मतदान कार्यक्रमले निर्वाचन गर्ने तरिका स्पष्ट भएको नमूना मतदान गर्ने मतदाताहरुले बताए । बाँके जिल्लामा ५ सय ५० जना बहिरा तथा सुस्त श्रवण भएका ब्यक्तिहरु मध्य २ सय ८० जना मतदाता रहेको रेरी बाँकेका अध्यक्ष पुनित विक्रम शाहले जानकारी दिए ।
नमूना मतदान कार्यक्रममा सपना अधिकारीले दोभासेको भूमिका निर्वाह गरेकी थिइन् । नमूना मतदानमा ४ वटा मत बदर भएको थियो ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ४, २०७४