16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

जिल्ला अस्पताललाई प्रवासी नेपालीको सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४  

०७४ वैशाख २७ / रोजगारीका क्रममा विदेशियका अर्घाखाँचीका युवाहरुले सन्धीखर्क जिल्ला अस्पतालमा सोलार जोड्न तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । दस लाख रुपैयाँमा जडान गरिएको उक्त सोलार जडान कार्यमा स्वास्थ्य मन्त्रालय र सन्धिखर्क नगरपालिकाबाट उपलब्ध आर्थिक सहयोगमा विदेशियका अर्घाखाँचीबासीहरुले सहकार्य गरेका अभियानका एक सदस्य राजु खड्काले अनलाइनखबरलाई बताए ।
सोलार जडान भएसँगै अब अस्पातलमा २४ सै घण्टा विद्युतीय सुविधा उपलब्ध हुने भएको छ । सोलार जोडने अभियानमा युएई, कतार, साउदी अरब, कोरिया र अमेरिकामा रहेका अर्घाखाँचीबासीहरुले संयुक्त रुपमा रकम संकलन गरेका थिए ।

यो अभियानमा युएईको दुबईबाट आईशा चिनाल र फुजेराबाट वीरेन्द्र खड्काले संयोजन गरेका थिए भने साउदीबाट गिरिराज खनाल, कोरियाबाट माधव गौतम र सुन्दर पन्थीको संयोजकत्वमा रकम संकलन गरिएको थियो । यस अभियानमा अमेरिकाबाट गोपी गौतम, कतारबाट हरि आचार्यले रकम नेतृत्व गरेका थिए । संकलित रकम गत वैशाख २५ गते रेडक्रस दिवसको अवसर पारेर अस्पताल परिसरमा हस्तान्तरण गरिएको अभियन्ता खड्काले जानकारी दिए ।

अर्घाखाँची जिल्लाकै एकमात्र ३० शैयाको अस्पताललाई पूर्ण रुपमा सुविधा सम्पन्न बनाउन प्रवासी नेपालीहरुको योगदान गर्न पाउँदा गौरव लागेको दुबईमा कार्यरत अर्घाखाँचीकी आईसा चिनालले बताइन् । यस अभियानमा सहयोग गर्ने सबैलाई अस्पताल प्रसाशनले कदरपत्रले सम्मान गरेको छ ।                      अनलाइनखबर

प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४     1:38:11 PM  |